

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिको बचाउ गरेका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै मन्त्री खनालले प्रधानमन्त्रीको अभिव्यक्ति सीमा क्षेत्रमा देखिएका ‘क्रस–बोर्डर अकुपेसन’ अर्थात् सीमापार अतिक्रमणका घटनासँग सम्बन्धित रहेको स्पष्ट पारे।
प्रधानमन्त्री शाहले जेठ १७ गते प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि केही स्थानमा भारतको भूमि मिचेको जानकारी आफूले प्रधानमन्त्री बनेपछि थाहा पाएको बताएका थिए। उक्त अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसद्मा निरन्तर प्रश्न उठाउँदै आएका छन्।
परराष्ट्रमन्त्री खनालले नेपाली भूमि लिपुलेक हुँदै भारतले मानसरोवर यात्रा सञ्चालन गरेको विषयमा नेपाल सरकारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको बताए। उनले यस सम्बन्धमा नेपालले कूटनीतिक नोट पठाएको र भारतले त्यसको जवाफसमेत दिएको जानकारी दिए।
उनका अनुसार नक्साङ्कन हुन बाँकी रहेका केही क्षेत्रबाहेक नेपाल–भारत सीमामा दशगजा अतिक्रमणका समस्या विद्यमान छन्। यस्ता विषयहरू कूटनीतिक संवाद र वार्तामार्फत समाधान गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए।
मन्त्री खनालले सीमा समस्याको समाधानका लागि नेपाल र भारतबीच द्विपक्षीय संयन्त्रमार्फत नै पहल भइरहेको उल्लेख गर्दै यस विषयमा कुनै तेस्रो मुलुकको संलग्नता नखोजिएको स्पष्ट पारे। प्रमाण संकलन र तथ्यगत अध्ययनका क्रममा अन्य देशसँग संवाद भएको विषयलाई प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिमा उल्लेख गरेको उनको भनाइ थियो।