काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हालैको भारत भ्रमणप्रति प्रश्न उठाएका छन्।
प्रतिनिधिसभामा बोल्दै आङ्देम्बेले भारत भ्रमणका क्रममा लामिछानेले नेपाल–भारत सीमा विवादका विषयमा कुनै चासो नदेखाएको भन्दै आपत्ति जनाए।
सीमा समस्याबारे छलफल गर्नु ‘ढोल बजाएर गर्ने विषय होइन’ भन्ने लामिछानेको अभिव्यक्तिप्रति संकेत गर्दै उनले त्यसमा असहमति व्यक्त गरे।
“दिल्लीमा रहँदा सीमा समस्याको ‘स’ र कालापानीको ‘क’ समेत उच्चारण नगरी किन फर्किनुभयो ?” आङ्देम्बेले प्रश्न गरे।
उनले सीमा विवादजस्ता संवेदनशील विषय सार्वजनिक प्रदर्शन गरेर नभई निश्चित कूटनीतिक प्रक्रिया र मापदण्डअनुसार उठाइने कुरा आफूहरूलाई पनि थाहा रहेको उल्लेख गर्दै राष्ट्रिय हितका विषयमा स्पष्ट धारणा आवश्यक रहेको बताए।
आङ्देम्बेले नेपाल–भारत सीमा समस्या राष्ट्रिय सरोकारको विषय भएकाले जिम्मेवार राजनीतिक नेतृत्वले यस्ता मुद्दामा स्पष्ट र सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे।