

काठमाडौं । नवनियुक्त मन्त्री महावीर पुनले सरकारी आवास उपलब्ध नभएसम्म मन्त्रालयमै बस्ने र सुत्ने बताएका छन्। पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले कामलाई केन्द्रमा राखेर मन्त्रालयमै समय बिताउने आफ्नो योजना सुनाएका हुन्।
सरकारले तत्काल सरकारी आवास उपलब्ध गराउन नसक्ने अवस्था रहेको आफूलाई जानकारी रहेको बताउँदै पुनले त्यसलाई कुनै समस्या नठानेको बताए।
“यहीँ सुत्ने हो, यहीँ बस्ने हो। सरकारले क्वार्टर दियो भने जाने हो। सरकारले तुरुन्तै क्वार्टर दिने अवस्था पनि छैन भन्ने मलाई थाहा छ,” उनले भने, “क्वार्टरभन्दा यहीँ बस्न पाएँ भने झन् खुसी लाग्छ। जाँगर चले काम गर्ने हो, नभए केही बेर सुत्ने हो, फेरि उठेर काम गर्ने हो। मेरो तरिका यही हो।”
मन्त्री पुनले आफू लामो समयसम्म पदमा बस्ने उद्देश्य नभएको पनि स्पष्ट पारे। सीमित अवधिमा उल्लेखनीय काम गरेर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न चाहेको उनको भनाइ थियो।
“म प्रधानमन्त्रीज्यू र जनतालाई भन्न चाहन्छु, म धेरै समय मन्त्री भएर बस्दिनँ। बढीमा तीन वर्ष बस्छु,” उनले भने, “तीन वर्षमै पाँच–छ वर्षमा हुने काम पूरा गरेर बलियो आधार तयार पार्ने र त्यसपछि युवालाई जिम्मेवारी दिने हो। देश बनाउने जिम्मा अन्ततः युवाकै हातमा जानुपर्छ।”
ठट्यौली शैलीमा उनले आफ्नो उमेरप्रति पनि टिप्पणी गरे। “म ७२ वर्षको युवा हुँ,” उनले भने, “जोश र जाँगरका हिसाबले आफूलाई अझै ३० वर्षको जस्तै महसुस गर्छु।”
पदभार ग्रहणसँगै मन्त्री पुनको यो अभिव्यक्तिले सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म चर्चा पाएको छ। उनले कार्यसम्पादनलाई प्राथमिकता दिने र परिणाममुखी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।