देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, तराईका केही स्थानमा गर्मी बढ्ने

देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौं । आज देशका विभिन्न भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने तराईका अधिकांश भूभागमा आंशिक बदली रहनेछ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ। यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो दिनको अवस्था रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति देशभर सामान्य बदली रहने पूर्वानुमान गरिएको छ। मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा तथा कर्णाली प्रदेशसहित सबै प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा थोरै तथा तराईका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।