छानबिनमा सहयोग गर्न मन्त्री पद छाडेको हुँ : सांसद सुधन गुरुङ

छानबिनमा सहयोग गर्न मन्त्री पद छाडेको हुँ : सांसद सुधन गुरुङ

काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरुङले आफ्नो सम्पत्तिसम्बन्धी उठेका प्रश्नहरूको निष्पक्ष छानबिनमा सहयोग पुर्‍याउनकै लागि मन्त्री पदबाट राजीनामा दिएको बताएका छन्। आइतबार गोरखामा आयोजित रास्वपाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले सार्वजनिक पदमा बसेपछि उठ्ने प्रश्नहरूको जवाफ दिन आफू सदैव तयार रहेको बताए।

“सार्वजनिक पदमा बसेर काम गरेपछि उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भन्ने मान्यताका साथ मैले छानबिन समितिसमक्ष बयान दिएको हुँ,” गुरुङले भने, “बयानका क्रममा केही प्रश्न निकै कडा थिए, तर मैले सबै प्रश्नको स्पष्ट र सहज रूपमा उत्तर दिएको छु।”

बयानका क्रममा भएको एक प्रसंग सुनाउँदै उनले छानबिन समितिले सम्पत्तिको स्रोतबारे प्रश्न गर्दा आफूले समितिलाई पनि सम्पत्ति छानबिन गर्न सुझाव दिएको बताए। “समितिले मलाई ‘यति धेरै सम्पत्ति कहाँबाट आयो ?’ भनेर सोध्यो। मैले पनि सहज रूपमा ‘तपाईंहरूको सम्पत्ति पनि छानबिन गरौँ न’ भनेर प्रतिप्रश्न गरेको थिएँ,” उनले भने।

गुरुङका अनुसार छानबिन समितिको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगिसकेको छ। आफूले पूर्ण रूपमा सफाइ पाउने विश्वास व्यक्त गर्दै उनले पुनः गृह मन्त्रालयको जिम्मेवारी पाउने अपेक्षा पनि गरेका छन्।

“यदि समितिबाट सफाइ पाएर सरकारले फेरि गृह मन्त्रालयको जिम्मेवारी दियो भने सुरुका दुई महिना बधाई दिन र तस्बिर खिच्न मन्त्रालय नआइदिनुहोला,” उनले हास्यात्मक शैलीमा भने। कार्यक्रममा उनले पार्टी संगठन सुदृढीकरणका विषयमा पनि धारणा राख्दै अबको जिल्ला नेतृत्व जिल्लामै सक्रिय हुनुपर्ने बताए।

“अब बन्ने जिल्ला सभापति राजधानीमा बसेर होइन, जिल्लामै बसेर संगठन निर्माणमा जुट्नुपर्छ,” उनले भने, “राजधानीकेन्द्रित नेतृत्वले निर्वाचनका बेला मात्र जनतासँग सम्पर्क गर्ने अवस्था आउँछ, जसले पार्टीलाई दीर्घकालीन रूपमा फाइदा गर्दैन।” गुरुङले आफू गृहमन्त्री रहँदा आमजनताबाट उल्लेखनीय सहयोग र समर्थन पाएको स्मरण गर्दै निर्वाचनमा विजयी गराउने गोरखावासी मतदाताप्रति विशेष आभार व्यक्त गरेका छन्।