राष्ट्रिय परिचयपत्र छाप्न सुरु, तीन वर्षभित्र वितरण गरि सक्ने

राष्ट्रिय परिचयपत्र छाप्न सुरु, तीन वर्षभित्र वितरण गरि सक्ने

काठमाडौं, १५ कार्तिक । सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि छपाइ सुरु गरेको छ । आज सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र प्रशोधन केन्द्रमा छपाइको सुरुवात गरिएको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले जनाएको छ ।

पहिलो चरणमा गृहसचिव प्रेम राईले बटम थिचेर ५० ओटा परिचयपत्र छाप्नुभएको थियो । पाँचथर र सिंहदरबारका कर्मचारीलाई पहिलो चरणमा परिचयपत्र वितरण गर्नका लागि केन्द्रले छपाइ सुरुवात गरेको केन्द्रका केन्द्रका वरिष्ठ इन्जिनियर मुकेश रेग्मीले अत्याधुनिक प्रविधिसहितको परिचयपत्र छाप्न सुरु गरिएको जानकारी दिनुभयो । पहिलो चरणमा वैयक्तिक र जैविक विवरण संकलन गरिएका पाँचथरका २० हजार र सिंहदरबारका एक हजार कर्मचारीको परिचयपत्र छाप्ने उहाँले जानकारी दिनुभयो ।

केन्द्रले पहिलो चरणमा पाँचथरका एक लाख १० हजार नागरिक र सिंहदरबारका सरकारी कार्यालयका सात हजार कर्मचारीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने योजना रहेको जनाएको छ । अहिले सबैको व्यक्तिगत र जैविक विवरण संकलन नसकिएकाले २१ हजारको मात्र पहिलो चरणमा र पछि अन्यको छापिने काफ्लेले बताउनुभयो । सबै परिचयपत्र छापेर यही महिनाको मसान्तदेखि पाँचथरमा परिचयपत्र वितरण समेत गरिनेछ । केन्द्रले अमेरिकामा बनेको अत्याधुनिक यन्त्र डाटा कार्ड कम्पनीबाट प्रतिघन्टा पाँच सयको दरले परिचयपत्र छाप्ने जनाएको छ ।

सरकारले नागरिकताको सट्टा व्यक्तिको सम्पूर्ण व्यक्तिगत विवरण समावेश गरिएको राष्ट्रिय परिचयपत्र ल्याउन थालेको हो । सरकारले २०६७ मा केन्द्र स्थापना गरेपनि २०७३ सालदेखि परिचयपत्रको काम सुरु भएको हो । यसैवर्ष थप १५ जिल्लामा पनि परिचयपत्र वितरण गर्ने योजना छ ।