कांग्रेस बारा जिल्ला सभापति राजेश राय यादव निलम्बित

कांग्रेस बारा जिल्ला सभापति राजेश राय यादव निलम्बित

काठमाडौं । नेपाली कांग्रेस बारा जिल्ला सभापति राजेश राय यादवलाई पार्टीले निलम्बन गरेको छ। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बिहीबार बसेको बैठकले यादवलाई सभापति पदबाट निलम्बन गर्ने निर्णय गरेको हो।

समितिका सचिव दिनेश थापा मगरका अनुसार उनलाई दुई पटक स्पष्टीकरण सोधिएको भए पनि कुनै जवाफ नआएपछि निलम्बन गर्ने निर्णय गरिएको हो।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोपमा यादवविरुद्ध अनुशासन समितिमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा समितिले स्पष्टीकरण माग गरेको थियो।

तर, पटक–पटकको पत्राचारपछि पनि जवाफ नदिएपछि अनुशासन समितिले उनलाई निलम्बन गर्ने निर्णय गरेको हो। समितिको निर्णयअनुसार अन्तिम निर्णय नहुन्जेलसम्म यादवलाई बारा जिल्ला सभापति पदमा रही कुनै पनि कामकाज गर्न नपाउने गरी निलम्बन गरिएको छ।

कांग्रेसले जारी गरेको निर्णयमा विधान तथा नियमावलीअनुसार अनुशासन उल्लङ्घनको आरोपमा थप अनुसन्धान गरी अन्तिम निर्णय गर्ने प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ।