परराष्ट्रमन्त्री शिशिर खनाल भोलिदेखि तीन दिने भारत भ्रमणमा

परराष्ट्रमन्त्री शिशिर खनाल भोलिदेखि तीन दिने भारत भ्रमणमा

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबारदेखि तीन दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्ने भएका छन्। परराष्ट्र मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री खनालको भारत भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरेको हो।

भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री खनाल जेठ २२ देखि २४ गतेसम्म भारत भ्रमणमा जाने कार्यक्रम तय भएको छ। भ्रमणका क्रममा मन्त्री खनालले नयाँ दिल्लीमा भारतीय समकक्षी डा. जयशङ्करसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नेछन्। उक्त भेटमा नेपाल–भारत सम्बन्धका विविध पक्षबारे छलफल हुने मन्त्रालयले जनाएको छ।

छलफलमा व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा क्षेत्र तथा जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा केन्द्रित रहने कार्यसूची रहेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार यो भ्रमण नियमित उच्चस्तरीय आदान–प्रदानको एक हिस्सा हो, जसले नेपाल–भारतबीचको ऐतिहासिक, कूटनीतिक र बहुआयामिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। भ्रमण सम्पन्न गरी मन्त्री खनाल जेठ २४ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ।