पश्चिमी वायुको प्रभावः आज पनि वर्षा, चट्याङ र हुरीको सम्भावना

पश्चिमी वायुको प्रभावः आज पनि वर्षा, चट्याङ र हुरीको सम्भावना

काठमाडौँ । नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेकाले देशका विभिन्न स्थानमा बदली र वर्षाको सम्भावना रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावका कारण मंगलबार काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हुरीसहित वर्षा भएको थियो।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ।

महाशाखाले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा, लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने जनाएको छ। यस्तै, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो दिन हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। साथै मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा पहाडी क्षेत्रका थोरै स्थानमा अपराह्नपछि हुरी चल्न सक्ने चेतावनी दिइएको छ।