काठमाडौं, १२ कार्तिक । राष्ट्रपति विद्या भण्डारी चार दिने औपचारिक भ्रमणका लागि कतार प्रस्थान गर्नुभएको छ । उहाँ आज बिहान बिहान साढे ११ बजे कतार प्रस्थान गर्नुभएको हो । कतारका अमिर शेख तामिम बिन हमद अलथानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी कतार जानु भएको हो ।
प्रधानमन्त्री बिरामी भएकाले राष्ट्रपति भण्डारीलाई त्रिभुवन विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, गृहमन्त्री रामबहादुर थापा, सभामुख कृष्णबहादुर महरा तथा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना लगायतले बिदाइ गर्नुभयो । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली पनि राष्ट्रपतिसँगै कतार भ्रमणमा जानुभएको छ । राष्ट्रपतिको भ्रमण कात्तिक १५ गतेसम्म हुने छ ।
यसक्रममा राष्ट्रपति भण्डारीले विभिन्न उच्चस्तरीय भेटवार्ता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । कतार भ्रमणको अवसरमा भोलि राष्ट्रपति भण्डारीले अमिर शेख अलथानीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने छ भने बैठकपछि कतारी अमिरले राष्ट्रपति भण्डारीको सम्मानमा आयोजना गर्ने दिवा भोजमा सहभागी हुनुहुने छ । भ्रमणको अवसरमा कतारस्थित राजदूत रमेशप्रसाद कोइरालाले आज अपराह्न रात्रीभोजको आयोजना गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारी १५ गते स्वदेश फर्कनु हुनेछ ।