बालकविता
– रमेशचन्द्र घिमिरे-
यौटापछि अर्को फेरि अर्कोपछि अर्को
हेर साथी कमिलाको कति लामो लर्को
आँट्यो भने आँधीसमेत रोक्छ कमिलाले
उस्तै परे पहाड पनि बोक्छ कमिलाले
जाँगर पोख्न कत्ति पनि मान्दैन यो झर्को
हिँड्छ, हिँड्छ,हिँडिरहन्छ बनाई लामो लर्को
मान्छेले झैं एक्लाएक्लै भर्दैन यो भुँडी
मित्रताको मर्म बुझी खान्छ बाँडीचुँडी
मान्छेको झैँ बोली चर्को नारा छैन चर्को
कति लामो लर्को आहा कति लामो लर्को ।
भोर्लेटार, लमजुङ