कांग्रेसमा नयाँ पुस्तालाई आकर्षित गर्नसक्ने नीति चाहियो

कांग्रेसमा नयाँ पुस्तालाई आकर्षित गर्नसक्ने नीति चाहियो

पोखरा । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नयाँ पुस्तालाई आकर्षित गर्नसक्ने किसिमले स्पष्ट नीति तथा योजनाका साथ पार्टी अघि बढ्नु आवश्यक भएको बताएका छन् । कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको १३ औँ दिनको तिथि पारेर कांग्रेस कास्कीद्वारा आयोजित श्रद्धाञ्जलीसभामा उनले तल्लो तहदेखि माथिल्लो तहसम्म सबै नेता तथा कार्यकर्ताले पार्टीको विधान पालना गर्नुपर्नेमा जोड दिए ।

सहमहामन्त्री महतले ज्यानको समेत पर्वाह नगरी राष्ट्र र पार्टीका लागि जस्तो सुकै जोखिम मोल्नसक्ने नेताका रुपमा बाँस्तोलालाई चित्रित गर्दै नेपालको लोकतान्त्रिक आन्दोलनमा उनको अतुलनीय योगदान भएको बताए । कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीले राष्ट्र र पार्टीको आवश्यकतामा जस्तोसुकै जोखिम मोल्ने व्यक्तिको रुपमा बाँस्तोला आफ्नो स्मरणमा रहेको बताए ।

कांग्रेस कास्कीका सभापति कृष्ण केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री यज्ञबहादुर थापा, प्रदेशसभा सदस्य विन्दुकुमार थापा, पार्टीका नेता शुक्रराज शर्मा, खेमराज पौडेल, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय उपाध्यक्ष डिल्लीराम सुवेदी, काङ्ग्रेस कास्कीका उपसभापति आईबहादुर गुरुङ, सचिव देवेन्द्र रानाभाट, क्षेत्रीय सभापति पोषनाथ शर्मालगायतले लोकतान्त्रिक आन्दोलनमा बाँस्तोलाको योगदानको स्मरण गरे ।