दशैँतिहारको साइत पात्रोमै राख्न माग

दशैँतिहारको साइत पात्रोमै राख्न माग

-पूर्णप्रसाद मिश्र –

काठमाडौँ, ६ कात्तिक । दशैँ, तिहारजस्ता महत्वपूर्ण पर्वको साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गर्ने पात्रो (पञ्चाङ्ग) मै राख्न माग गरिएको छ ।

राष्ट्रिय धर्मसभा, नेपालले पाँचौँ पण्डित सम्मेलनका बारेमा जानकारी दिन आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा समितिले केही व्यक्तिको परामर्शमा मात्र साइत निकाल्दा त्रुटि बढ्न थालेकाले बृहत् भेलाबाट साइतलगायत महत्वपूर्ण निर्णय गर्नुपर्नेमा जोड दिइएको हो । विसं २०७६ को पञ्चाङ्गमा सबै साइत राख्ने व्यवस्था गर्न माग गरिएको हो ।

धर्मसभाका अध्यक्ष एवं समितिका पूर्वअध्यक्ष प्रा डा माधव भट्टराईले घटस्थापनाका दिन चित्रा र वैधृति शान्ति गरेर जमरा राख्नुपर्नेमा साइत मात्र सार्वजनिक गर्दा सर्वसाधारण अन्योलमा परेको बताउनुभयो ।

“पहिले सरोकार भएका सबैलाई राखेर बैठक गरी निर्णय गरिन्थ्यो, त्यो परम्परा तोडिएकाले विजयादशमीका दिन ९ः३९ बजे देवी विसर्जन गरेर ९ः५१ मा देवीको प्रसाद लगाउने साइत दिइयो, हनुमानढोकामा देवी विसर्जन गरेर १२ मिनेटमा राष्ट्रपति निवास पुग्न सकिन्छ कि सकिँदैन भन्नेसम्म पनि विचार गरिएन”, उहाँले भन्नुभयो ।

सरोकार भएका सबैसँग छलफल नगर्दा विगत वर्षमा पात्रोमा उल्लेख गरेको एक महीनापछि ल्होसार मनाइएको अध्यक्ष भट्टराईले बताउनुभयो । पञ्चाङ्गकार एवं समितिका पूर्वसदस्य लोकराज पौडेलले सबैसँग सल्लाह गरेर निर्णय गर्न आह्वान गरे बैठक भत्तासमेत नलिने जानकारी दिनुभयो । बैठक भत्ताका लागि बजेट नभएरै समितिले बृहत्रुपमा छलफल नगर्ने गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले सो कुरा भन्नुभएको हो । रासस