

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले आउँदा तीन दिन देशका विभिन्न भागमा भारी वर्षा, हिमपात र तीव्र हावाहुरीको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभाग को मौसम पूर्वानुमान उद्धृत गर्दै प्राधिकरणले भोलि शुक्रबारदेखि मौसममा उल्लेख्य परिवर्तन आउने जनाएको हो। तीन दिनको अवधिमा देशभर प्रभाव पार्ने मौसमीय प्रणाली सक्रिय हुने भएकाले विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।
प्राधिकरणका अनुसार भोलि दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुने सम्भावना छ। हिमपातका कारण चिसो बढ्ने र जनजीवन प्रभावित हुन सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ।
यसैबीच, लुम्बिनी प्रदेशका दाङ र नेपालगञ्जसहित तराईका जिल्लाहरूमा हावाहुरीको जोखिम रहेको जनाइएको छ। पर्सि शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लाहरूमा करिब ११९ किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ।
प्रि–मनसुन अवधिमा यस्तो हावाहुरीले रुख ढाल्ने, कमजोर संरचना र छाना उडाउने तथा विद्युत् र सञ्चार सेवा प्रभावित पार्न सक्ने जोखिम रहेको प्राधिकरणले जनाएको छ। पछिल्ला दिनहरूमा हावाहुरीका कारण मानवीय क्षतिसमेत भएको भन्दै थप सचेतना आवश्यक रहेको उल्लेख गरिएको छ।
सतर्कता सम्बन्धी सुझाव
प्राधिकरणले अनावश्यक यात्राबाट जोगिन, सुरक्षित स्थानमा बस्न, हावाहुरीका बेला झ्यालढोका बन्द गर्न, आगोका स्रोत बन्द राख्न, सवारी चलाउँदा सुरक्षित स्थानमा रोकिन, भीडभाडमा नआत्तिन, कमजोर संरचना र अग्ला रुखमुनि नबस्न तथा विद्युतीय उपकरण प्रयोग नगर्न आग्रह गरेको छ।
साथै, विभागबाट जारी हुने मौसम पूर्वानुमान र प्राधिकरणका आधिकारिक सूचनाहरू नियमित रूपमा पछ्याउन सबैमा अनुरोध गरिएको छ।