राजविराज, १ कात्तिक । शक्तिपीठ राजदेवी मन्दिरमा यस पटक १४ हजार ९९७ बोकाको बलि चढाइएको छ । यस पटक गत वर्षभन्दा दुई हजार ५५० बढी बोकाको बलि बढी चढेको छ । गत वर्ष १२ हजार ४४७ बोकाको बलि चढाइएको थियो । विभिन्न सङ्घसंस्थाको विरोधले गत वर्ष बलि चढाउने सङ्ख्यामा कमी आए पनि यस वर्ष बलि चढाउनेको सङ्ख्यामा पुनः वृद्धि भएको देखिएको छ ।
महावीर युवा कमिटीका अनुसार सो मन्दिरमा २०७३ सालमा १४ हजार ६१७ बोकाको बलि चढाइएको थियो । जनकवंशी राजाको कुलदेवी सो मन्दिरमा असत्यमा सत्य, अधर्ममा धर्म, अँध्यारोमा उज्यालो प्राप्ति तथा कार्यसिद्धि र मनोकामना पूर्णताका लागि बोकाको बलि दिने चलन छ । राजदेवीलाई महादुर्गा, महाकाली, महासरस्वती, महामाया चण्डिका, पार्वती, कौशिकी, जानकी र किशोरी नामले पनि पूजार्चना गर्ने परम्परा छ । अनिकालले गर्दा परेको विकट सङ्कटबाट मुक्तिका लागि राजदेवीको स्थापना गरिएको जनविश्वास पाइन्छ ।
राजदेवी मन्दिर सप्तरी जिल्लाको सदरमुकाम राजविराजको राजदेवी टोलमा पर्छ । प्राचीन इतिहास बोकेको यस मन्दिरको नामबाटै राजविराज नगरको नाम राखिएको हो । राजदेवी मन्दिर भित्र रहेको भगवतीलाई सेन वंशको इष्टदेवी मानिन्छ । राजदेवी मन्दिर यहाँ रहनुको प्रमुख कारण यहाँ सेन राजाहरूको कचहरी, किल्ला र दरवार रहनु हो । यस मन्दिरमा रहेको भगवतीलाई मनोकामना पूरा गर्ने देवी मानिएको हुॅदा नेपाल र भारतका आमजनमानसको ठुलो आस्था रहेको छ । यस मन्दिरमा हिन्दुहरूको महान चाड दशैँमा ठुलो घुइँचो लाग्ने गरेको छ र यहाँ बोकाको बलि दिने गरिन्छ ।