

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अर्थतन्त्र सुधारका लागि १५ बुँदे धारणा सार्वजनिक गरेका छन् । कांग्रेसले अब सपना देखाउने मात्र नभई ती सपनालाई नतिजामा बदल्ने गरी अर्थतन्त्रको ‘अपरेटिङ सिस्टम’ नै परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उनले बताएका छन् ।
भिडिओ वक्तव्यमार्फत सार्वजनिक धारणा प्रस्तुत गर्दै महामन्त्री पौडेलले वितरणमुखी र परनिर्भर अर्थतन्त्रबाट मुलुकलाई उत्पादनमुखी, आत्मनिर्भर र बचतयुक्त अर्थतन्त्रतर्फ लैजान प्रणालीगत सुधार अपरिहार्य रहेको उल्लेख गरेका छन् ।
उनले ज्ञानमा आधारित अर्थतन्त्रको अवधारणालाई अघि सार्दै परम्परागत श्रम र पसिनाको निर्यातबाट हटेर बौद्धिक पुँजी र ज्ञानको निर्यातमा केन्द्रित हुनुपर्ने बताएका छन् । प्रविधिको प्रयोगमार्फत साना उद्यमी, युवा तथा दुर्गम क्षेत्रका प्रतिभालाई सिधै विश्व बजारसँग जोड्दै अवसरको लोकतन्त्रीकरण गर्नुपर्ने उनको भनाइ छ ।
महामन्त्री पौडेलले शिक्षा, बैंकिङ, कानुन र परराष्ट्र नीतिलाई एक–अर्काको पूरक बनाउने एकीकृत आर्थिक इकोसिस्टम निर्माण आवश्यक रहेको बताएका छन् । विश्वविद्यालयहरूलाई ‘अनुसन्धान र आविष्कार केन्द्र’का रूपमा विकास गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।
नेपालको आर्थिक विकासमा कानुनी जटिलता ठूलो बाधक बनेको उल्लेख गर्दै उनले दोस्रो चरणको आर्थिक सुधार र कानुनी पुनर्जागरणका लागि सर्वोच्च छाता ऐनमार्फत विकास र लगानीमा अवरोध पुर्याउने झन्झटिला कानुन हटाउनुपर्ने बताएका छन् ।
मन्त्रालयबीचको समन्वय अभाव र प्रशासनिक ढिलासुस्तीले अर्थतन्त्रको गति सुस्त भएको भन्दै उनले समयबद्ध कार्यविधिसहितको ‘फास्ट ट्रयाक सेवा’ लागू गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
महामन्त्री पौडेलले ‘२१औँ शताब्दीको लोकतान्त्रिक समाजवाद’को व्याख्या गर्दै समाजवाद कसैको प्रगतिमा बाधक नभई गरिबी र अभावमा कसैलाई पर्न नदिन सामाजिक सुरक्षा सुनिश्चित गर्ने प्रणाली हुनुपर्ने बताएका छन् ।
उनले डिजिटल अर्थतन्त्र अन्तर्गत राइड–सेयरिङ, ई–कमर्स र डिजिटल प्लेटफर्मबाट सिर्जना भएका अवसरलाई कानुनी मान्यता दिँदै स्टार्टअपहरूलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । साथै आर्थिक कूटनीति र भू–आर्थिक पुलको अवधारणामार्फत वैदेशिक सहायतामुखी सोचबाट लगानी र व्यापार केन्द्रित कूटनीतितर्फ जानुपर्ने आवश्यकता औँल्याएका छन् ।
महामन्त्री पौडेलले नेपाली डायस्पोराको ज्ञान, सीप र पुँजीलाई ‘ब्रेन गेन’को अवधारणामार्फत राष्ट्र निर्माणमा जोड्नुपर्नेमा समेत जोड दिएका छन् ।