

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाको बैठकलाई सोमबार पहिलोपटक सम्बोधन गर्दै तोकिएको समयमै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने प्रतिबद्धता व्यक्त गरेकी छन्।
माघ ४ गतेदेखि सुरु भएको राष्ट्रिय सभाको १९औँ अधिवेशनअन्तर्गत सोमबार भएको पाँचौँ बैठकमा प्रधानमन्त्री कार्कीले सम्बोधन गरेकी हुन्। सम्बोधनका क्रममा उनले सरकारको प्राथमिकतामा रहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी तथा सुशासनका क्षेत्रमा भइरहेका कामबारे सभालाई जानकारी गराइन्।
आफू कुनै शासकीय आकाङ्क्षा बोकेर नभई विषम परिस्थितिमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको उल्लेख गर्दै उनले तोकिएको समयमै प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरी त्यसबाट बन्ने नयाँ सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्न आतुर रहेको बताइन्।
प्रधानमन्त्री कार्कीले हालै सम्पन्न राष्ट्रिय सभाको निर्वाचनबाट निर्वाचित सांसदहरूलाई बधाईसमेत दिइन्।
यसै अवसरमा उनले ‘विकास, आर्थिक मामिला तथा सुशासन’ समितिका सभापति कमला पन्तद्वारा प्रस्तुत ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथिको छलफलका क्रममा सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ पनि दिएकी छन्।