-रामचन्द्र दुलाल-
सिन्धुपाल्चोक, २४ असोज । सुनकोशी गाँउपालिका वडा नंः ६ र महेन्द्रोदय माध्यमिक विद्यालय थुम्पाखरको आयोजनामा विद्यार्थीहरुलाई पोशाक वितरण, सम्मान, इन्जिनियरिङ कक्षा ११ उद्घाटन एवम् विजया दशमी र दिपावलीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो ।
नेपाली कांग्रेसका नेता एवम् पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा सिभिल इन्जिनियरिङका तर्फको कक्षा ११ को बस्नेतले विधिवतरुपमा उदघाटन गर्नुभयो । सो अवसरमा पूर्व सूचना तथा सञ्चार मन्त्री बस्नेतले सिन्धुपाल्चोकको पहिलो प्राविधिक इन्जिनियरिङ कक्षा आफैले उद्घाटन गर्न पाउदा आफ्नो पहिले देखिको सपना पुरा भएको बताउनु भयो । साथै उहाँले सिन्धुपाल्चोकको समग्र विकासकालागि स्थानीयको सक्रियताको प्रशंसा गर्दै आफुले जस्तोसुकै अवस्थामा पनि विकासकालागि साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सुनकोशी गाँउपालिका वडा नंः ६ का अध्यक्ष रामकुमार थापाले यो क्षेत्रको विकासका लागि विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्याउनुहुने व्यक्तिहरुलाई सम्मान गरेको जानाकारी दिनुभयो । कार्यक्रममा २०७२ सालको भुकम्पमा सहयोग गर्ने दाताहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सुनकोशी गाउपालिका वडा नंः ६ का सबै विद्यालयहरुलाई वडाको लोगोसहितको ट्रयाकसुट वितरण गरियो भने सबै प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरिएको थियो । कार्यक्रममा वडा कार्यालयले वडामा भएका महेन्द्रदय माविका १ सय १७, सेतिदेवी माविका ९१, कोल्दोङदेवी माविका ४८, चामुनादेवी निमाविका ४९, देउराली प्राविका २१, विपी आधारभुत विद्यालयका १५, दिवा शिशु आधारभुत विद्यालयका ३५, कुइले बालविकासका १० र सुन्दरडाँडा बालविकासका ३ विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गरेको थियो । कार्यक्रममा शिक्षा क्षेत्रमा परिवर्तनका लागि काम गर्दै आएका वडाका सबै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षा क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।
सुनकोसी गाउँपालिका–६ थुम्पाखारस्थित रहेको महेन्द्रदय माध्यामिक विद्यालयमा पहिलो पटक सिभिल इन्जिनियरिङ विषयको पढाई हुन थालेको छ । विद्यालयमा अध्ययरत विद्यार्थीहरु अहिले राजधानीमा उच्च शिक्षाको लागि जानुको सट्टा इन्जिनियरिङ विषय अध्ययन गर्न गाउँमै भर्ना हुन थालेका छन् । अहिले कक्षा ११ मा प्राविधिक शिक्षातर्फ रुची राख्ने १५ जना छात्र र १५ जना छात्रा अध्ययरत रहेका छन् । महेन्द्रदय मावि र सुनकोसी गाउँपालिका–६ थुम्पाखरले आयोजना गरेको सिभिल इन्जिनियरिङको कक्षा ११ उद्घाटन तथा पोसाक वितरण कार्यक्रम सम्पन्न भएको थियो ।
प्राविधिक शिक्षा अध्ययन गराउने भन्दै उद्घाटन गरिएसँगै स्थानीय र विद्यार्थीमा खुसीयाली छाएको छ । जिल्लामै पहिलो पटक प्राविधिकतर्फ इन्जिनियरिङ विषयको कक्षा सञ्चालन गर्ने विद्यालय महेन्द्रदय मावि बनेको छ । प्राविधिकतर्फका सबै विद्यार्थीलाई विद्यालयले सम्मान गर्दा उनीहरु निकै उत्साहित भएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य प्राध्यापक प्रेमध्वज लामाले यो क्षेत्रमा प्राविधिक विद्यालय स्थापना भएकोमा खुशी व्यक्त गर्नुभयो ।
कांग्रेस महासमिति सदस्य हरिशरण श्रेष्ठ, सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिशी (विनोद), जिल्ला शिक्षा अधिकारी गौरीशंकर पाण्डे, विभिन्न दलका प्रतिनिधिहरु, सुनकोशी गाँउपालिका वडा ४ का अध्यक्ष देवेन्द्र खत्रीलगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सभापतित्व सुनकोशी गाँउपालिका वडा नंः ६ का अध्यक्ष रामकुमार थापाले गर्नुभएको थियो ।