

पोखराः नेपालको पर्यटन विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपालमञ्च डटकमको तेस्रो वार्षिकोत्सवका अवसरमा पर्यटकीय नगरी पोखरामा आयोजित अन्तरक्रिया कार्यक्रममा उनीहरुले नेपालको समृद्धिका लागि पर्यटन बलियो आधार भएको बताए । उर्जा, सहरी विकास तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले पर्यटन नै नेपालको भविष्य भएको उल्लेख गर्दै त्यसका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार सक्रिय रहेको बताए। “पर्यटनलाई कसरी व्यवस्थित गर्ने भन्ने कुरा महत्त्वपूर्ण छ। नेपाल सम्भावना बोकेको देश हो तर त्यसका लागि समयमै र सही ढंगले पूर्वाधार निर्माण हुनुपर्छ,” उनले भने। उनले पोखराको सडक निर्माण सम्पन्न भइसकेको र मुग्लिन सडक पनि निर्माणको चरणमा रहेको जानकारी गराए। साथै, पर्यटन प्रवर्द्धनका लागि आवश्यक पूर्वाधार निर्माणमा ऐन–कानुन, कर्मचारीतन्त्र र ठेकेदार प्रणालीमा परिमार्जन आवश्यक रहेको उनले औँल्याए।

वार्षिकोत्सव समारोहमा दुईवटा विचार विमर्श सत्र सञ्चालन गरिएका थिए। दिलिपप्रकाश कार्कीले सञ्चालन गरेको पहिलो सत्र ‘जेनजी आन्दोलनपछिको अर्थतन्त्र र पर्यटन’ विषयमा केन्द्रित थियो। उक्त सत्रमा टान कास्कीका अध्यक्ष कृष्ण आचार्य, नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलिया तथा पत्रकार सुरज कुँवरले वक्ताका रूपमा आफ्नो धारणा राखेका थिए। वक्ताहरूले युवापुस्ताको सक्रियता, सामाजिक परिवर्तन र त्यसले पर्यटन तथा राष्ट्रिय अर्थतन्त्रमा पार्ने प्रभावबारे गहिरो विश्लेषण प्रस्तुत गरे।
नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक थपलियाले वार्षिक ३० लाख पर्यटक भित्राउन सम्भव रहेको बताएका छन् । नेपालमञ्चको तेस्रो वार्षिकोत्सवका अवसरमा पर्यटकीय नगरी पोखरामा आयोजित कार्यक्रममा थपलियाले निजी क्षेत्र र सरकारबीच सहकार्य भए ३० लाख पर्यटक ल्याउन असम्भव नहुने बताए । उनले जेनजी आन्दोलनले पर्यटन क्षेत्र धराशयी हुन्छ भन्ने चिन्ता भएपनि त्यसको असर खासै नदेखिएको दावी गरे । उनले भने, ‘जेनजी आन्दोलनले देश जलिरहेका बेला पर्यटन क्षेत्र के होला भन्ने चिन्ता हामी सबैमा थियो, तर बोर्डको कुरा हेर्दा तत्कालै सामाजिक सञ्जालमा हामी सक्रिय भयौं। निजी क्षेत्र र सञ्चार क्षेत्रले सघायो । आन्दोलनमा इमेजको हिसाबले खर्बौको क्षति भयो । तर एक हप्ताभित्रै पर्यटन क्षेत्रलाई लयमा फर्कायौं ।’

कास्की टानका अध्यक्ष आचार्यले पूर्वाधार विकास र पर्यटनमैत्री नीति बनाउन सके नेपालमा पर्यटन ल्याउन कठिन नरहेको बताए । पत्रकार कुँबरले नेपालको अर्थतन्त्र बलियो बनाउन पर्यटन विकास नै प्रमुख स्तम्भ भएको दावी गर्दै त्यसका लागि सरकारले आवश्यक नीति बनाउनुपर्नेमा जोड दिए ।
त्यस्तै, पवन पौडेलले सञ्चालन गरेको दोस्रो सत्र ‘नयाँ मिडियाको छाँयामा पुरानो मिडिया’ विषयमा आयोजित थियो। यस सत्रमा गोरखापत्रका महाप्रबन्धक लाल ऐरी, नेपाल प्रेसका प्रधानसम्पादक मात्रिका पौडेल, गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारी, प्रेस काउन्सिल नेपालका सदस्य नकुल अर्याल तथा अन्नपूर्ण एक्सप्रेसका सम्पादक कमलदेव भट्टराई वक्ता रहेका थिए। उनीहरूले डिजिटल युगमा परम्परागत मिडियाको चुनौती, सम्भावना र पत्रकारिताको विश्वसनीयताबारे विचार व्यक्त गरे। पोखरास्थित पौवा होटलमा आयोजना गरिएको कार्यक्रममा अर्थतन्त्र, पर्यटन र मिडियाको बदलिँदो भूमिकामाथि सार्थक बहस सम्पन्न भएको थियो ।