उपभोग्य वस्तुमा मूल्यवृद्धि ( मूल्य सहित)

उपभोग्य वस्तुमा मूल्यवृद्धि ( मूल्य सहित)

तुलसीपुर, १९ असोज । दैनिक उपभोग्य सामग्रीको मूल्य दिन प्रतिदिन बढिरहेको छ । एकाएक मूल्य बढ्दा उपभोक्तासँगै व्यवसायी पनि आजित भएका छन् । नेपालीको महान् चाडपर्व दशैँ, तिहार नजिकिँदै गर्दा उपभोग्य सामग्रीमा पनि निकै मूल्यवृद्धि भएको स्वयं व्यवसायी बताउँछन् । हाल बजारमा चिनी, तेल, आटा, मैदालगायतका वस्तुमा मूल्यवृद्धि भएको छ । जब चाडपर्व आउँछ सोही समयमा मूल्यवृद्धि हुँदा उपभोक्ता निकै मारमा पर्ने गरेको उपभोक्ता चेतना वलीले बताउनुभयो । “हामी उपभोक्ता विभिन्न बहानामा ठगिने गरेका छौँ”, उहाँले भन्नुभयो ।

हाल बजारमा चिनीमा प्रतिकेजी रु पाँच, मैदामा रु १०, तेलमा रु ३० सम्म वृद्धि भएको छ । यसअघि प्रतिलिटर रु १३५ पर्ने तोरीको तेल रु १६५ देखि ७० सम्म पुगेको छ । त्यस्तै मैदा रु ४५ प्रतिकिलोबाट एकाएक बढेर रु ५५ पुगेको व्यवसायी बताउँछन् । “एक दुई दिनमै मूल्य अकासिएको छ, उपभोक्तालाई कसरी बुझाउने समस्या छ”, व्यवसायी हेमराज गौतमले भन्नुभयो । व्यवसायीले आफूहरुले महङ्गो मूल्यमा खरिद गर्नुपरेकाले उपभोक्तालाई पनि सोहीअनुरुप थोरै नाफा खाएर बेच्नुपर्ने बताउँछन् ।

त्यसैगरी जिल्लाका मुख्य बजार तुलसीपुर, घोराही, लमहीमा महङ्गीको समस्या देखिएको बताइएको छ । तुलसीपुर उद्योग वाणिज्य सङ्घअन्तर्गत किराना व्यवसायी उपसमितिका संयोजक जनक रावतले पनि विभिन्न उपभोग्य सामग्रीमा मूल्यवृद्धि भएको बताउनुभयो ।

उहाँले सबैभन्दा धेरै आटा, मैदा, तेलमा मूल्यवृद्धि भएको बताउनुभयो । तुलसीपुर उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष रामप्रसाद चालिसेले ठूला व्यवसायीले कृत्रिम अभाव सिर्जना गरेका कारण मूल्यवृद्धि भएको बताउनुभयो । “यहाँ मूल्यवृद्धि भएको होइन, ठूला व्यवसायी र कारखानाले कृत्रिम अभाव सिर्जना गरेकाले यस्तो समस्या भएको हो”, उहाँले भन्नुभयो । अब छिट्टै बजार अनुगमन गर्ने उहाँको भनाइ थियो । तर बजारमा हालसम्म पनि अनुगमन नभएको उपभोक्ताले गुनासो गरेका छन् । रासस