

काठमाडौं । भारतको गोवास्थित अरपोरा क्षेत्रको नाइट क्लबमा शनिबार मध्यरात भएको भीषण आगलागीमा चार नेपालीसहित २५ जनाको मृत्यु भएको पुष्टि भएको छ। घटनामा ६ जना घाइते भएका छन्।
गोवा सरकारले सार्वजनिक गरेको सूचीअनुसार मृत्यु हुने २० जना क्लबका कर्मचारी हुन्, जसमा नेपालका चुर्णबहादुर पुन, विवेक कटवाल, सबिन र सुदीप रहेका छन्। उनीहरूको विस्तृत ठेगाना भने खुलाइएको छैन। गोवा सरकारले शव नेपाल पठाउने प्रक्रिया अघि बढाइने जनाएको छ।
हिन्दुस्तान टाइम्सका अनुसार नाचगान भइरहेको बेला प्रयोग गरिएको इलेक्ट्रोनिक फायरक्राकरबाट आगो भड्किएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। साँघुरा बाटोका कारण दमकल समयमै पुग्न नसक्दा आगो तीव्र रूपमा फैलिएको अधिकारीहरूले बताएका छन्।
क्लबमा रहेका धेरै मानिस भुइँतला र भान्सातिरै थुनिएर ज्यान गुमाएका थिए। केहीको जलेर मृत्यु भएको छ भने केही धुँवामा निसासिएर मृत्यु भएको अनुसन्धानले देखाएको छ।
अनुसन्धानले क्लबले सुरक्षा मापदण्ड नपु¥याएको र अवैध रूपमा सञ्चालनमा रहेको पुष्टि भएको छ। गोवा प्रहरीले क्लबका महाप्रबन्धक र कर्मचारीसहित ४ जनालाई पक्राउ गरेको छ। मालिक सौरभ लुथरा र गौरव लुथरा विरुद्ध मुद्दा दर्ता गरिएको छ।
नियमविपरीत क्लब सञ्चालन अनुमति दिएको आरोपमा तीन जना वरिष्ठ सरकारी अधिकारी निलम्बित भएका छन्।
गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मृतकका परिवारलाई ५ लाख रुपैयाँ र घाइतेहरूलाई ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन्। साथै, अनुमति बिना सञ्चालन भइरहेका क्लब तथा भीडभाड हुने स्थानहरूको अडिट गर्ने बताइएको छ।
प्रत्यक्षदर्शीहरूका अनुसार क्लब अत्यधिक भीडिएको थियो र आगो लागेपछि केही मिनेटमै संरचना पूर्ण रूपमा जलेर नष्ट भएको थियो। आगलागीसँगै ग्याँस सिलिन्डर विष्फोट हुँदा स्थिति झनै भयावह बनेको थियो।
चुर्णबहादुर पुन — नेपाल
विवेक कटवाल — नेपाल
सबिन — नेपाल
सुदीप — नेपाल
मोहित — झारखण्ड
प्रदीप महतो — झारखण्ड
विनोद महतो — झारखण्ड
सतीश सिंह — उत्तराखण्ड
सुरेन्द्र सिंह — उत्तराखण्ड
जितेन्द्र सिंह — उत्तराखण्ड
सुमित नेगी — उत्तराखण्ड
मनिश सिंह — उत्तराखण्ड
दिगम्बर पटिर — असम
राहुल तन्ती — असम
मनोजित माल — असम
सुनील कुमार — उत्तर प्रदेश
रोहन सिंह — उत्तर प्रदेश
डोमिनिक — महाराष्ट्र
मनोज जोरा — महाराष्ट्र
इसहाक — कर्नाटक
सुभास क्षेत्री — दार्जिलिङ, पश्चिम बंगाल
सरोज जोशी — दिल्ली
विनोद कुमार — दिल्ली
अनिता जोशी — दिल्ली
कमला जोशी — दिल्ली