

काठमाडौं । प्रभु बैंकले वरिष्ठतम कर्मचारी निरज लम्साललाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी प्रदान गरेको छ । बैंकका सीईओ अशोक शेरचनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गैरकानुनी कारोबारमा संलग्नताको आरोपमा पक्राउ गरेपछि सञ्चालक समितिले लम्साललाई नेतृत्वको जिम्मा दिएको हो ।
सीआईबीका अनुसार प्रभु ग्रुप अन्तर्गतको प्रभु म्यानेजमेन्ट फन्डमा भएको गैरकानुनी कारोबारबारे अनुसन्धान गर्न शेरचनसहित तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकामध्ये नेकपा एमालेका पूर्वसांसद तथा प्रभु ग्रुपका सञ्चालक देवीप्रसाद भट्टचन र प्रभु म्यानेजमेण्ट प्रालिका खाता सञ्चालक हेमकुमार महाजु समेत छन् ।
प्रभु बैंकले जारी गरेको वक्तव्यमा अनुसन्धान प्रक्रियाले बैंकको दैनिक सञ्चालन, वित्तीय सुशासन, निक्षेपकर्ता, शेयरधनी तथा ग्राहकको हितमा कुनै नकारात्मक असर नपर्ने स्पष्ट पारेको छ ।