

काठमाडौं: साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक घट्दै २५६०.२९ विन्दुमा बन्द भएको छ। लगातार दुई दिनदेखि ओरालो लागेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
यस दिन नेप्से परिसूचक ५.८० अंकले घट्दा सेन्सेटिभ इन्डेक्स १.०५ अंक, फ्लोट इन्डेक्स ०.५० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३४ अंकले घटेका छन्।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन आइतबार ४ अर्ब ९० करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा सोमबार ३२७ कम्पनीको ४० हजार ५९१ पटकको कारोबारमार्फत ४ अर्ब ५१ करोड ४४ लाख रुपैयाँबराबरका ८६ लाख ४७ हजार कित्ता शेयर किनबेच भएका छन्।
यस दिन चार कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेका छन्। दरमखोला हाइड्रो इनर्जी, सागर डिष्टिलरी, बुङ्गल हाइड्रो र माबिलुङ्ग इनर्जीका शेयर मूल्यमा उच्च वृद्धि भएको हो। यी सबै कम्पनीहरू हालै नेप्सेमा सूचीकृत भएका हुन्।
त्यस्तै, सिटि होटलको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले घट्दै सर्वाधिक गिरावटमा परेको छ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। कम्पनीको ४८ करोड ८८ लाख रुपैयाँबराबरको कारोबार भएको छ। त्यसपछि यूनियन हाइड्रोपावरको साढे २५ करोड रुपैयाँ र एसबिएल डिबेञ्चर २०८९ को करिब २५ करोड रुपैयाँको कारोबार भएको छ।
१३ उपसमूहमध्ये तीन उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूह घटेका छन्। होटल तथा पर्यटन उपसमूहको परिसूचक १.६४ प्रतिशतले बढ्दै अग्रस्थानमा छ भने लगानी र व्यापार उपसमूहमा सामान्य वृद्धि भएको छ। घटेका उपसमूहहरूको गिरावट दर भने १ प्रतिशतभन्दा कम रहेको छ।