मिथिला क्षेत्रमा आज ‘भैयादुज’ पर्व मनाइँदै

मिथिला क्षेत्रमा आज ‘भैयादुज’ पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहित तराई–मधेशका अधिकांश क्षेत्रमा आज ‘भैयादुज’ पर्व धुमधामका साथ मनाइँदैछ।

यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो पर्व मनाउने मैथिल परम्परा रहेको छ।

सामान्यतया पाँच दिनको हुने यमपञ्चक यस वर्ष छ दिनको भएको छ। धनतेरस गत शनिबार नै मनाइएकाले शनिबारदेखि सुरु भएको दीपावली आज ‘भैयादुज’ पर्व मनाएर सम्पन्न हुँदैछ।

मिथिलामा भरद्वितीया वा भातृद्वितीया नामले चिनिने यो पर्वमा विवाहित दिदीबहिनीले आफ्ना दाजुभाइलाई घरमा निम्ता गर्छन्। कतिपय दिदीबहिनी माइतीमै आएर पनि यो पर्व मनाउने गर्छन्। अविवाहित दिदीबहिनी र दाजुभाइले भने एउटै घरमै स्वनिवासमा यो पर्व मनाउने परम्परा रहँदै आएको छ।

निम्तामा आएका दाजुभाइले नयाँ वस्त्र, आभूषण वा अन्य कोसेली लिएर आउने गर्छन्। दिदीबहिनीले घरमा अरिपन (पिठारले बनाइएको चतुष्कोण घेरा) बनाएर त्यसभित्र काठको पिरामा दाजुभाइ बसाउँछन्। टाढाबाट आएका दाजुभाइको गोडा तातोपानीले धुइन्छ, त्यसपछि अञ्जुली फैलाइएका दाजुभाइलाई पिठार, पानको पात र सुपारी राखी दिइन्छ र सप्तरङ्गी टीका लगाइन्छ।

संस्कृतिविद् ध्रुव रायका अनुसार यो पर्वको मूल कथा सत्ययुगसँग सम्बन्धित छ। पौराणिक मान्यताअनुसार राजा बलिको दाजु यमराज र बहिनी यमुनाले देवतासँगको युद्ध अघि दाजुको दीर्घायु, सौर्यवृद्धि र विजयको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिएको प्रसङ्ग नै आजको ‘भैयादुज’ पर्वको आधार हो।

मैथिल परम्परामा यस अवसरमा दिदीबहिनीले गीतमार्फत दाजुभाइको गङ्गा–यमुनाजस्तै वेग र कीर्तिको कामना गर्छन्। त्यस क्रममा दाजुभाइलाई ‘बजरी’ (सुकेको केराउको दाना) खुवाइन्छ — जसको अर्थ दाजुभाइको शरीर बजरसमान कठोर होस् भन्ने शुभकामना हो।

मिथिलाभरका गाउँ–सहरमा बुधबार नै गोबरसँग मिसाएर ओखलमा कुटिएका केराऊका दाना आज धोएर पखालिएका छन्। आज ती दानालाई मिठाई, लड्डु वा पेडासँगै दाजुभाइलाई खुवाइँदै ‘बजरी खैया भैया बजर होइहा, दान नदिहा दरिद्र होइहा’ भन्ने लोकभाका उच्चारण गरिँदै पर्व मनाइँदैछ।

विधि सम्पन्न भएपछि दाजुभाइले दिदीबहिनीलाई आफ्नो गच्छे अनुसार नयाँ वस्त्र, आभूषण, नगद वा अन्य कोसेली प्रदान गर्छन्। अन्त्यमा दिदीबहिनीले दाजुभाइलाई मिष्टान्न भोजन गराएर पर्व सम्पन्न गर्छिन्।