फापरखेतको पहिरोले बेनी–दरवाङ सडक अवरुद्ध, तीन स्थानीय तहको आवागमन ठप्प

फापरखेतको पहिरोले बेनी–दरवाङ सडक अवरुद्ध, तीन स्थानीय तहको आवागमन ठप्प

म्याग्दी । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतको भीषण पहिरोले म्याग्दीका तीन स्थानीय तहलाई सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकखण्डमा यातायात अवरुद्ध भएको छ।

विसं २०६० अघि निर्माण सुरु भएको यो सडक हरेक वर्ष बर्खायाममा पहिरोका कारण बन्द हुँदै आएको छ। हालको पहिरोले मङ्गला, मालिका र धौलागिरि गाउँपालिकासँगै बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाको आवागमनमा समेत ठूलो समस्या सिर्जना गरेको छ।

स्थानीयवासीका अनुसार पहिरोका कारण बिरामीलाई अस्पताल पुर्‍याउन, दूध, तरकारी र फलफूल बजार लैजान, दैनिक उपभोग्य सामग्री र निर्माण सामग्री ढुवानी गर्न कठिनाइ भएको छ। मङ्गला–२ बाबियाचौरका चक्रलाल पाण्डे (राजु)ले भने, “साँघुरो सडकमा सवारी गुडिरहेका बेला माथिबाट पहिरो खस्ने डरले यात्रुहरू निरन्तर त्रासमा छन्।”

म्याग्दी नदीमा निर्माणाधीन तीन जलविद्युत् आयोजना, राहुघाट सवस्टेशन, सडक, खानेपानी, सिँचाइ र अन्य विकास आयोजनाहरू पनि पहिरोको असरमा परेका छन्। सडकमुनि म्याग्दी नदी बगेको र माथितिर ठूलो पहिरो भएकाले जोखिम अझै कायम छ।

पूर्वाधार विकास कार्यालय म्याग्दीले पहिरो पन्छाउने काम थालेको र अस्थायी रूपमा यातायात सञ्चालनको प्रयास भइरहेको जनाएको छ। तर, स्थायी समाधानका लागि विकल्पको खोजी भइरहेको छ। गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीका अनुसार फापरखेत पहिरोको विकल्पमा मङ्गला गाउँपालिका–३ पखेर र वडा नं. २ सिमलचौर जोड्ने बेलिब्रिज निर्माण योजना अघि सारिएको छ।

‘यो परियोजनाका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले एक करोड रुपैयाँ विनियोजन गरेको छ,’ उनले बताए, ‘संघीय सरकारसँग भएको जगेडा बेलिब्रिज ल्याएर जडान गर्ने प्रयास भइरहेको छ।’

तर, दुई वर्षअघि नै मन्त्रिपरिषद्ले संघीय सरकारसँग बेलिब्रिज माग्ने निर्णय गरे पनि राजनीतिक अस्थिरताका कारण कार्यान्वयन ढिलाइ भएको जुग्जालीले बताएका छन्।