असोज १८–२० मा आकस्मिक बहावको उच्च सम्भावना

असोज १८–२० मा आकस्मिक बहावको उच्च सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी असोज १८ देखि २० गतेसम्म विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

बागमती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशका सङ्खुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट लगायतका जिल्लामा स–साना नदीमा आकस्मिक बहावको उच्च सम्भावना रहेको विभागले जनाएको छ।

विभागका अनुसार बंगालको खाडीमा विकसित न्यून चापीय मौसमी प्रणाली भारतको ओडिसाबाट जमिनतर्फ प्रवेश गरी मध्य भारत सर्दैछ। यसकै प्रभाव स्वरूप असोज १७ देखि २० गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी गतिविधि सक्रिय हुने अनुमान गरिएको छ।

उक्त अवधिमा नारायणी, बागमती, कमला, कोशी नदी तथा तिनका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्न सक्ने, केही स्थानमा खतरा तहसम्म पुग्ने सम्भावना रहेको छ। साथै महाभारत र चुरे हुँदै बग्ने स–साना नदी–नालामा आकस्मिक बहाव हुन सक्ने चेतावनी दिइएको छ।

मनसुन अझै नेपालबाट बाहिरिन नसकेको अवस्थामा विभागले सम्भावित बाढी, डुबान, पहिरो र भू–क्षयका जोखिमलाई मध्यनजर गर्दै पूर्व तयारी र सतर्कता अपनाउन अनुरोध गरेको छ। सडक तथा हवाई यातायातमा पनि प्रभाव पर्न सक्ने भएकाले विपद् जोखिम न्यूनीकरणका सबै निकाय र आम नागरिकलाई विभागले सजग रहन अपिल गरेको छ।