

काठमाडौं । वित्तीय प्रणालीमा तरलता बढिरहेपछि नेपाल राष्ट्र बैंकले आज (आइतबार) २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागिएको छ। निक्षेप संकलन उपकरण बोलकबोलमार्फत यो प्रक्रिया अघि बढाइनेछ।
अहिले कुल निक्षेप ७२ खर्ब रुपैयाँ नाघिसकेको छ। अतिरिक्त तरलता र ब्याजदर व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा प्रयोग गर्दै आएको छ।
बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन्। सहभागी संस्थाले प्रस्ताव गर्ने ब्याजदरअनुसार न्यूनतम दर बोल्ने प्रस्तावलाई प्राथमिकता दिँदै आह्वान गरिएको रकमसम्म बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।
अनलाइन खरिद प्रणालीमार्फत आजै बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज असोज १२ गते भुक्तानी गरिनेछ। बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोडले निःशेष भाग जाने गरी निर्धारण गरिएको छ।
राष्ट्र बैंकको खुला बजार कारोबारसम्बन्धी कार्यविधिअनुसार, वित्तीय बजारमा दीर्घकालीन अतिरिक्त तरलता देखिएमा बढीमा ६ महिने अवधिसम्मको निक्षेप संकलन उपकरण प्रयोग गरेर ब्याजदर व्यवस्थित गर्ने व्यवस्था छ। यही आधारमा राष्ट्र बैंकले पटकपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको हो।