

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनका विदेशमन्त्री वाङ यीसँगको मंगलबारको भेटवार्तामा भारत–चीन सीमामा शान्ति र स्थिरता कायम राख्नुपर्नेमा जोड दिएका छन्। उनले सीमा विवादको निष्पक्ष, तर्कसंगत र दुवै पक्षलाई स्वीकार्य हुने समाधानप्रति भारत प्रतिबद्ध रहेको दोहोर्याए।
यसअघि वाङ यीले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गर्दै मोदीले यसै महिना चीन भ्रमण गर्ने पुष्टि गरेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीतिपछि भारत–चीन सम्बन्ध नयाँ दिशातर्फ मोडिएको सन्दर्भमा दुवै पक्षबीचको उच्चस्तरीय सम्पर्कलाई महत्त्वपूर्ण मानिएको छ।
भेटवार्तापछि सामाजिक सञ्जालमार्फत मोदीले गत वर्ष कजानमा राष्ट्रपति सी चिनफिङसँगको भेटपछि भारत–चीन सम्बन्धले आपसी हित र संवेदनशीलताको सम्मान गर्दै निरन्तर प्रगति गरेको बताएका छन्। साथै उनले राष्ट्रपति सीको निमन्त्रणा स्वीकार गर्दै तियानजिनमा हुने शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिने र त्यहाँ भेटवार्ताका लागि उत्सुक रहेको जनाएका छन्।
मोदीले भारत–चीनबीच स्थिर, विश्वसनीय र रचनात्मक सम्बन्धले क्षेत्रीय मात्र नभई अन्तर्राष्ट्रिय शान्ति र समृद्धिमा पनि ठूलो योगदान दिने विश्वास व्यक्त गरे।
यसअघि सीमा विषयमा विशेष प्रतिनिधिहरूको २४औँ वार्तामा अजित डोभालले स्थिति सुधारिएको र सीमामा शान्ति कायम भएको बताएका थिए। वाङ यीले पनि पछिल्ला वर्षहरूमा दुबै देशले भोगेका चुनौतीहरूले दुवैको हितमा काम नगरेको उल्लेख गर्दै हाल सीमामा स्थिरता बहाल भएकोमा सन्तोष व्यक्त गरेका थिए।
अगस्ट १८ मा भारतीय विदेशमन्त्री एस जयशंकर र वाङ यीबीच भएको भेटलाई स्मरण गर्दै उनले एससीओ शिखर सम्मेलनमा मोदीको सहभागितालाई चीनले अत्यन्तै महत्त्व दिने र भ्रमणको सफलताका लागि भारतको सक्रिय योगदानको अपेक्षा गर्ने बताएका थिए।