

ढाका । बंगलादेशका पूर्व प्रधानन्यायाधीश एबीएम खैरुल हकलाई ढाकास्थित एक अदालतले पक्राउ गरी जेल चलान गर्ने आदेश दिएको छ। जात्राबारी प्रहरी चौकी नजिकै भएको हिंसात्मक आन्दोलनका क्रममा हत्या भएको घटनासँग सम्बन्धित मुद्दामा उनलाई अभियुक्त बनाइएको हो।
पक्राउपछि केही समयसम्म आफ्नै निवासमा हिरासतमा राखिएका हकलाई प्रहरीले हेलमेट र बुलेटप्रुफ ज्याकेटसहित अदालतमा उपस्थित गराएको टेलिभिजन फुटेजमा देखिएको छ। साँझ ८ बजे ढाकाको पुरानो क्षेत्रस्थित स्टेटस कोर्टमा उनलाई अदालतको सिँढीबाट ओरालिँदै अदालतमा लगिएको थियो।
गत वर्ष भएको जात्राबारी घटनामा विद्यार्थी कार्यकर्ता किशोर अब्दुल कयुम अहदको धारिलो हतियार र गोली प्रहार गरी हत्या गरिएको थियो। सोही घटनामा पूर्व प्रधानन्यायाधीश हकसहित करिब १ हजारदेखि २ हजारसम्मको संलग्नता रहेको प्रहरीको भनाइ छ।
सुनुवाइ गर्दै अतिरिक्त मुख्य महानगरीय मजिस्ट्रेट एम. सनाउल्लाहले हकलाई जेल चलान गर्ने आदेश दिएका हुन्। अदालत परिसरमा पूर्व प्रधानन्यायाधीशलाई ‘फासीवादी शासनको सहयोगी’ भन्दै भीडले विरोध नारा लगाएको थियो। अदालतमा कुनै वकिल उनको पक्षमा उभिन तयार भएनन् भने अभियोजन पक्षले उनलाई तुरुन्त हिरासतमा राख्न माग गरेको थियो।
पूर्व प्रधानन्यायाधीश हक सन् २०१० देखि २०११ सम्म बंगलादेशको १९औँ प्रधानन्यायाधीशको रूपमा कार्यरत थिए। उनले गैरदलीय कार्यवाहक सरकार प्रणालीलाई असंवैधानिक ठहर गर्दै ऐतिहासिक निर्णय दिएका थिए।
बंगलादेशको इतिहासमा सर्वोच्च अदालतको नेतृत्व सम्हालेका व्यक्तिलाई यसरी पक्राउ गरी जेल चलान गरिएको यो पहिलो घटना हो। अभियोजन पक्षका वकिलले पूर्वन्यायाधीशलाई पक्राउ गर्न सहजीकरण गर्ने भन्दै वर्तमान मुहम्मद युनुस नेतृत्वको सरकारलाई धन्यवादसमेत दिएका छन्।