

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा हाल प्रदेशसभा सदस्य दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ।
विशेष अदालत काठमाडौंमा सोमबार दायर गरिएको मुद्दामा सोडारीमाथि एक करोड आठ लाख ३८ हजार ३०२ रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप लागेको छ।
अख्तियारको अनुसन्धान अनुसार, सोडारीले सार्वजनिक पदमा रहँदा वैधानिक आम्दानीभन्दा धेरै रकम आर्जन गरी उक्त सम्पत्तिको स्रोत स्पष्ट गर्न नसकेको पाइएको छ। त्यस्तै, उनले दुरुपयोग गरी आर्जित सम्पत्ति श्रीमती गीता सोडारी र छोरा बबी सोडारीको नाममा जग्गा खरिद र घर निर्माण गरेको पनि खुलेको छ।
यसैले सोडारीका परिवारका सदस्यहरूलाई पनि भ्रष्टाचारबाट आर्जित सम्पत्ति जफत गर्न प्रतिवादी बनाइएको छ।