

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासनसम्बन्धी कडाइले बेल्जियम शाही परिवारकी राजकुमारी एलिजाबेथको शैक्षिक भविष्य अन्योलमा परेको छ। हार्वर्ड विश्वविद्यालयमा सार्वजनिक नीति अध्ययन गरिरहेकी एलिजाबेथ ट्रम्प प्रशासनको नयाँ नीतिका कारण संकटमा परेकी हुन्।
हार्वर्डमा स्नातकोत्तर तहको पहिलो वर्ष पूरा गरिसकेकी २३ वर्षीया एलिजाबेथलाई अब अमेरिका छाड्नुपर्ने वा अन्य विश्वविद्यालयमा सरुवा गर्नुपर्ने अवस्था सिर्जना भएको छ। ट्रम्प सरकारले विदेशी विद्यार्थीहरूलाई भर्ना गर्ने अनुमति फिर्ता लिँदै अमेरिकी विश्वविद्यालयहरूमा कडाइ गरेपछि यस्तो अवस्था आएको हो।
बेल्जियम शाही परिवारले यस निर्णयप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। राजकुमारी एलिजाबेथका बारेमा शाही प्रवक्ता लोर भान्डुर्नले भनिन्, “हामी अवस्थाको अनुसन्धान गरिरहेका छौं। यो निर्णयको प्रभाव आउँदा दिनमा स्पष्ट हुनेछ।”
शाही सञ्चार निर्देशक जेभियर बार्टले पनि यो निर्णयले परिस्थितिमा ठूला परिवर्तन ल्याउन सक्ने बताएका छन्।
राजा फिलिप र रानी म्याथिल्डेकी जेठी छोरी एलिजाबेथ बेल्जियमको भावी रानी हुन्। हार्वर्ड अघि उनले अक्सफोर्ड विश्वविद्यालयबाट इतिहास र राजनीतिमा स्नातक गरेकी थिइन्।
हार्वर्ड विश्वविद्यालयले ट्रम्प प्रशासनको कदमको आलोचना गर्दै एक विज्ञप्तिमा भनेको छ, “यो निर्णय गैरकानुनी मात्र होइन, विदेशी विद्यार्थीहरूलाई लक्षित गरी गरिएको अन्यायपूर्ण कदम हो।”