सुदूरपश्चिमका मुख्यमन्त्री शाह १० सदस्यीय टोलीसहित भारत भ्रमणमा

सुदूरपश्चिमका मुख्यमन्त्री शाह १० सदस्यीय टोलीसहित भारत भ्रमणमा

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह एक साताको भारत भ्रमणका लागि मंगलबार दिल्ली प्रस्थान गरेका छन्।

भारत सरकारको निमन्त्रणामा मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारततर्फ प्रस्थान गरेको हो। मुख्यमन्त्रीका प्रेस सल्लाहकार डम्बरबहादुर बमका अनुसार यो शाहको पहिलो विदेश भ्रमण हो।

भारत प्रस्थान गर्नुअघि विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहले सुदूरपश्चिम प्रदेश सरकारद्वारा आयोजना गर्न लागिएको लगानी सम्मेलनको तयारी, ऊर्जा, पर्यटन र कृषि क्षेत्रका सम्भाव्यता विषयमा भ्रमणका क्रममा भारतीय पक्षसँग छलफल हुने जानकारी दिए।

टोलीले भारतका दिल्ली, देहरादुन, अयोध्या र लखनउ लगायतका क्षेत्र भ्रमण गर्नेछ भने भारतीय संघीय मन्त्रीहरूसँग भेटवार्ता पनि तय भएको छ। भ्रमण टोली स्थलमार्ग हुँदै लखनउबाट कैलाली फर्किने कार्यक्रम छ।

टोलीमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, पूर्वमन्त्री घनश्याम चौधरी, नरेशकुमार शाही, झपटबहादुर साउद, नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, मुख्य सचिव कमलप्रसाद पोखरेल, सचिव सुरतकुमार बम, राजनीतिक सल्लाहकार जितु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट छन्।

मुख्यमन्त्री शाह भारतमा रहँदासम्म आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीमा रहनेछन्।