काठमाडौंको शंखपार्कको वायु ‘खतरनाक’ स्तरमा

काठमाडौंको शंखपार्कको वायु ‘खतरनाक’ स्तरमा

काठमाडौं। काठमाडौंको शंखपार्कको वायु मंगलबार दिउँसो ‘खतरनाक’ स्तरमा पुगेको छ। मध्याह्न १२ः३० बजे शंखपार्कको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ४५७ पुगेको हो, जुन वातावरण विभागको सूचकांक अनुसार स्वास्थ्यका लागि अत्यन्त खतरनाक मानिन्छ र पछिल्लो २४ घण्टाकै सबैभन्दा बढी एक्यूआई हो।

ललितपुरका भैँसेपाटी र खुमलटार, कास्कीको पोखरा, र दाङको देउखुरीमा पनि वायु अस्वस्थकर रहेको पाइएको छ, जहाँ एक्यूआई १५२ देखि १७७ सम्म मापन गरिएको छ।

शंखपार्कमा पीएम (पर्टिकुलेट म्याटर) १० को मात्रा २३८.४ माइक्रोग्राम प्रतिघनमिटर पुगेको छ, जुन स्वस्थ वायुको मापदण्ड भन्दा निकै बढी हो।

विभागका अनुसार, शंखपार्कबाहेकका अन्य स्थानहरू विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्ड अनुसार ‘अस्वस्थकर’ सूचीमा पर्न गएको छ। वायुको गुणस्तर मापदण्ड अनुसार एक्यूआई ५० सम्मको वायु स्वस्थकर मानिन्छ, ५० भन्दा बढी भए अस्वस्थकर हुँदै जान्छ।

एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका लागि अस्वस्थकर मानिन्छ, १५१ देखि २०० सम्म पुगेको वायु सबैका लागि अस्वस्थकर हुन्छ, २०१ देखि ३०० सम्मको वायु ‘अति अस्वस्थकर’ र ३०० माथिको वायु ‘खतरनाक’ मानिन्छ। पीएम १० र पीएम २.५ वायुको गुणस्तरका मुख्य मापक हुन्, जसका आधारमा वायुको अवस्था मूल्याङ्कन गरिन्छ।