आज विश्व ध्यान दिवस : किन गर्ने ध्यान?

आज विश्व ध्यान दिवस : किन गर्ने ध्यान?

काठमाडौं। ध्यानको महत्त्व मानव जीवनमा निकै छ। ध्यानले मानिसलाई क्रोध रहित र स्वस्थ बनाउँछ। ध्यानमा बस्नु भनेको कुनै कुरामा एकाग्र हुनु रहेको आम बुझाइ छ। तर, ध्यानको गहिराही त्यति फितलो छैन।

ध्यानको इतिहास निकै लामो र गर्विलो छ। जापानीका झेन र चीनको च्यान शब्द नै ध्यानको अपभ्रंस शब्द रहेको भनिन्छ। अंग्रेजीमा ध्यानलाई मेडिटेशन मनिन्छ। ध्यानको काम जागरुकता, जनचेतना, होस, साक्षी भाव तथा दृष्टा भाव जगाउनु हो।

योगका विभिन्न अंग छन्। तीमध्ये आठौ अंग ध्यान हो। धारणाको अर्थ चित्तलाई एउटै ठाउँमा केन्द्रित गरेर भावशून्य अवस्थामा रहनु ध्यान हो। कैयौं मानिस ध्यानलाई नै सर्दशन क्रिया भावातीत ध्यान क्रिया तथा सहज योग ध्यान सम्झने गर्छन्। तर, त्यस्तो होइन।

कैयौ सन्त, गुरु तथा महात्मा ध्यानको प्रकारका क्रान्तिकारी विधि बताउने गर्छन्। यद्यपि, उनीहरूले विधि र ध्यानबीच फरक भने कहिल्यै बताउँदैनन्। क्रिया र ध्यानमा आकाश जमिनको फरक छ। किनकि क्रिया साधना होइन, साध्य हो।

आँखा बन्द गरेर बस्दैमा ध्यान हुँदैन। कुनै मुर्तिलाई स्मरण गर्नु वा माला जप्नु पनि ध्यान हुँदैन। ध्यान त तब गरिन्छ, जब क्रियाबाट मुक्त भइन्छ। विचारबाट मुक्त भइन्छ। हाम्रो मनमा असंख्य कल्पना तथा विचार एकसाथ चल्ने गर्छ। यसका कारण हाम्रो मन तथा मस्तिष्कमा अनेकौं कुरा खेल्ने गर्छ। यस्ता कुरा जुन हामी सोच्न पनि चाहँदैनौं।

ध्यान जति जति गहिरो हुँदै जान्छ, व्यक्ति साक्षी भावमा स्थित हुन थाल्दछ। त्यसमा कुनै पनि भाव, कल्पना तथा विचारका क्षण मात्रले पनि प्रभाव पर्न दिँदैन। मन तथा मस्तिष्कका मौन हुनु नै ध्यानको प्राथमिक स्वरुप हो। विचार, कल्पना तथा अतीतको सुख–दुःखमा बाँच्नु ध्यानविरुद्ध हो।

ध्यानमा इन्द्रिया मनको साथ, मन बुद्धिको साथ आफ्नो स्वरुप आत्मामा लिन हुन थाल्दछ। जसले साक्षी वा द्रष्टा भाव बुझ्दैन, उनीहरुले सुरुमा अभ्यास गर्दा आँखा बन्द गर्नु पर्छ। र, अभ्यास हुँदै गएपछि आँखा बन्द होस् वा खुला, साधक आफ्नो स्वरुपको साथ नै जोडिएर रहन्छ।