

सुदूरपश्चिम, ६ जेठ।सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा आज मौजुदा मन्त्रिपरिषद् विस्तार तथा कार्यविभाजन गर्नुभएको छ ।
प्रदेश प्रमुख जोशीले गत माघ २६ गते गठित प्रदेश मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा १६८ बमोजिम मन्त्रीको नियुक्ति र कार्यविभाजन गर्नुभएको हो ।नवगठित मन्त्रिपरिषद्मा भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, आर्थिक मामिलामन्त्री नरेशकुमार शाही, आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह, सामाजिक विकासमन्त्री झपटबहादुर साउद, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्रीमा रमेशसिंह धामीले जिम्मेवारी पाउनुभएको छ । भौतिक पूर्वाधारमन्त्री देउवा र आर्थिक मामिलामन्त्री शाही यसअघि नै मन्त्री बन्नुभएको हो ।
यस्तै उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा गीतादेवी मालले जिम्मेवारी पाउनुभएको छ । मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन । मुख्यमन्त्रीको जिम्मा भूमि व्यवस्था कृषि तथा सहकारी विकास मन्त्रालय रहेको छ ।प्रदेश प्रमुखको कार्यालय धनगढीमा आजै आयोजित विषेश समारोहमा प्रदेश प्रमुख जोशीसमक्ष नवनियुक्त मन्त्रीले आजै पद तथा गोपनीयताका शपथ लिनुभएको छ ।
सोही समारोहमा मुख्यमन्त्री कमलबहादुर शाहसमक्ष राज्यमन्त्री मालले पद तथा गोपनीयताको शपथ लिनुभयो । नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।रासस