आधा दर्जन मुक्तकहरू

आधा दर्जन मुक्तकहरू

~टेकनारायण रिमाल “कौशिक”

मान्छे कोही होचा कोही अग्ला हुन्छन्
कोही अधूरा त कोही सग्ला हुन्छन्
अचम्मको छ मान्छेको बस्ती पनि
प्रायः मान्छे अलि अलि पगला हुन्छन् ।

कवि त्यो हो जो हर विधामा कलम चालोस्
कवि त्यो हो जो हर दिशामा बिजुली बालोस्
खालि आत्म-सन्तुष्टिमा डुबिराख्ने होइन
कवि त्यो हो जो हर उषामा सत्कर्म थालोस् ।

हिजोको कुरा अर्कै थियो त्यो कुरा आज छैन
मनमा चाहना भए पनि चाहेर हुँदैन
फेवा र माछापुच्छ्रेको जोडी नैसर्गिकै रै’छ
प्रीतिमा धौलागिरीले आँसू पारेर रुँदैन ।

धन-पैसो कुम्ल्याएर म त बुङ्गो छु भन्छ
ढुङ्गाजस्तै भारी भै फूलको थुङ्गो छु भन्छ
अहंको बोझाले थिचेर कुप्रो भइसक्यो
म त व्यवहारमा ज्यादै हलुङ्गो छु भन्छ ।

हरकलमले साँचो झुटो लेख्न सक्नुपर्छ
हरविधाले ठीक बेठीक देख्न सक्नुपर्छ
खालि विषाक्त मसी वाक्ने कलमलाई चाहिँ
हरहातले टुक्रा टुक्रा पारी फेंक्न सक्नुपर्छ ।

भयो मगज मान्छेको कालो रातो भयो जगत
जताततै ढले लाश खोलोतुल्य बह्यो रगत
कता धर्म कता कर्म कता देव कता गुरु
प्रायः मानिसको सोच ढुङ्गा माटो भयो फगत ।

याङ्गौँ म्यान्मा (बर्मा)