

मेलम्ची, २७ पुस । मेलम्ची नगरपालिकाले सूचकाङ्कको आधारमा उत्कृष्ट वडाध्यक्ष तथा सदस्यहरुलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ ।
साथै सम्बन्धित वडामा २० लाख बराबरको योजना थप गरी पुरस्कृत गरिने नगरपालिकाका प्रमुख डम्बर अर्यालले बताउनुभयो । मेलम्ची नगरपालिकाको चौथो हिउँदे अधिवेशनको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै नगर प्रमुख अर्यालले यस्तो बताउनुभएको हो ।
त्यसैगरी नगरपालिकाले बर्थिङ सेन्टरमा सुत्केरी गराउने सुत्केरी आमाहरुलाई तीन महिनासम्म मासिक तीन हजारका दरले पोषण भत्ताको व्यवस्था समेत गर्ने भएको छ । सुरक्षित प्रसुति सेवाका लागि नगरपालिकाले सो योजना ल्याएको उपप्रमुख भगवती नेपालले बताउनुभयो ।
ग्रामिण भेगका अधिकांश महिला अझैपनि घरमा नै सुत्केरी हुने गरेकाले धेरै आमा र बच्चाको स्वास्थ्यमा असर परेको भन्दै उहाँले स्वास्थ्य चौकीमै प्रसुति गराउन यो कार्यक्रम ल्याइएको बताउनुभयोे ।
नगरसभामा उपप्रमुख नेपालले आर्थिक वर्ष २०७५÷०७६ को बजेट वक्तव्य प्रस्तुत गर्नुभएको थियो । उहाँले नगरपालिकातर्फ एक अर्ब ४३ लाख ४१ हजार र संघसंस्थातर्फ ७८ करोड ९२ लाख ८१ हजार बजेट प्रस्तुत गर्नुभयो ।
बजेटमा कृषि विकासमा एक करोड, पशु विकासमा ६० लाख, जनस्वास्थ्यमा एक करोड ७५ लाख विनियोजन गरिएको छ । नगरपालिका र निजी क्षेत्रको लगानीमा मेलम्चीमा ताजा तरकारी बजार सञ्चालनमा ल्याइने कार्यक्रम पनि बजेटमा उल्लेख छ ।