

विराटनगर, २२ पुस । नेपाल आयल निगमको प्रदेश १ कार्यालय विराटनगरमातहत रहेर पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका १३ वटा ट्यांकरलाई तीन महिना प्रतिबन्ध लगाइएपछि विवाद भएको छ। ढुवानी नियमावलीविपरीत इन्धन ढुवानीमा प्रतिबन्ध लगाएर निगमले १३ वटै ट्यांकरलाई प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) नदिएको भन्दै ढुवानी व्यवसायी र मजदुर आक्रोसित बनेका हुन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले प्रकाशित गरेको छ ।
मजदुर र व्यवसायीले नियम मिचेर प्रतिबन्ध लगाइएका ट्यांकरलाई तत्काल पीडीओ दिनुपर्ने माग राखी आयल निगमविरुद्ध आन्दोलन घोषणा गरेको छ। पीडीओ नदिए सोमबारबाट नेपाल भर इन्धन ढुवानी ठप्प पार्दै ट्यांकरका चाबी निगमलाई बुझाई आन्दोलन सुरु गर्ने चेतावनी व्यवसायीले दिएका छन्। निगमले पीडीओ दिएपछि मात्रै नेपालमा ल्याइने पेट्रोलियम भारतस्थित निगमको डिपोले लोड गर्छ।
निगमले को १ ख ५९४१, ५९४२, ५९४३, ५९६५, ६९३०, ६९३४, ५९६८, ५९४१, ६०५०, ५९७०, ना ३ ख ९६३३, ना ४ ख १९६४ र २९७१ नम्बरको ट्यांकरलाई तीन महिनाका लागि प्रतिबन्ध लगाउँदै ढुवानीमा रोक लगाएको हो। यी सबै ट्यांकर निगमका ढुवानीकर्ता सुखदेव सिंहका हुन्। भारतको बरौनी डिपोदेखि नेपाल आयल निगमको विराटनगर डिपोसम्म ढुवानी गर्ने क्रममा सिंहले सञ्चालन गरेको को १ ख ५९६५ नम्बरको ट्यांकरबाट लक लागेकै अवस्थामा दुई हजार चार सय ८४ लिटर डिजेल मंसिर ६ गते चोरी भएको थियो। त्यसपछि उनले सञ्चालन गरेका सबै ट्यांकरलाई इन्धन ढुवानीमा तीन महिना रोक लगाउँदै निगमले पीडीओ उपलब्ध नगराएपछि ढुवानी व्यवसायी र निगमबीच दूरी बढेको छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकबाट लिएका हौं ।