

काठमाडौँ, २२ पुस । निवृत्तिभरणको कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभाको अर्थ समितिले पारित गरेको छ । समितिले दफाबार छलफलपछि प्रतिवेदनसहितको सदनमा पेस गर्ने निर्णयसहित विधेयक पारित गरेको हो । अर्थ समिति सचिव सुरेन्द्र अर्यालले समितिले दफाबार छलफलको प्रतिवेदन तयार पारेको जानकारी दिनुभयो । यो खबर आजको गोरखापत्र दैनिकले प्रकाशित गरेको छ ।
समितिले प्रस्तावित मूल विधेयकलाई सामान्य हेरफेर गरेरमात्र विधेयकको प्रतिवेदन तयार पारेको हो । समितिले प्रस्तावित विधेयकका चारवटा दफामा मात्र सामान्य हेरफेर गरेको छ । मूल विधेयकको दफा १२(३) भने समितिले हटाएको छ । प्रस्तावित विधेयक पारित भएपछि निवृत्तिभरण कोषमा कर्मचारीको मासिक तलबबाट छ प्रतिशत रकम जम्मा हुनेछ ।
सरकारले सोही बमोजिम शतप्रतिशत रकम जम्मा गर्नेछ । कोष सञ्चालनमा आएपछि हालको पेन्सन वितरण प्रणाली पनि कोष मातहतमा नै आउनेछ ।
पेन्सन प्रणाली योगदानमा आधारित हुनेछ । निवृत्तभरणका कारण राज्यकोषबाट हुने व्यय निरन्तर बृद्धि भई खर्चको भार बढेको भन्दै सरकारले योगदानमा आधारित व्यवस्था प्रस्तावित गरेको हो । प्रस्तावित व्यवस्था अनुसार २०७५ साउन १ गतेदेखि नियुक्त हुने कर्मचारीका हकमा यो व्यवस्था लागू हुनेछ । यो खबर आजको गोरखापत्र दैनिकबाट लिएका हौं ।