घरभाडावापत लिएको रकम फिर्ता गर्दै भट्टराई

घरभाडावापत लिएको रकम फिर्ता गर्दै भट्टराई

काठमाडौं, १ पुस । नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराईले संसद सचिवालयबाट घरभाडावापत लिएको ९० हजार रुपैयाँ फिर्ता गर्ने बताउनुभएको छ । ताप्लेजुङबाट निर्वाचित सांसद भट्टराईले २०७४ फागुनदेखि २०७५ मंसिरसम्म दस महिनामा लिएको घरभाडावापतको रकम ९० हजार फिर्ता लिन संसद सचिवालयलाई आग्रह गर्नुभएको हो ।

सांसद भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै घरभाडा वापत आफ्नो नाममा जम्मा भएको २०७४ फागुनदेखि २०७५ मंसिरसम्म १० महिनाको ९० हजार रुपैयाँ फिर्ता गर्न वा आउने महिनामा प्राप्त हुने पारिश्रमिकमा कट्टा गर्न संसद सचिवालयलाई अनुरोध गर्नुभएको छ ।

सांसद भट्टराईले संसद सचिवालयले फारम भराउँदा काठमाडौंमा घर भएको उल्लेख गरे पनि घरभाडा लिने सांसदको सूचीमा आफ्नो नाम प्रकाशित हुँदा आश्चर्यमा परेको उल्लेख गर्नु भएको छ ।

संसदीय क्षेत्रमा अनुभवको कमी तथा संसद सचिवालयका तर्फबाट अभिलेख व्यवस्थापनमा भएको असावधानीका कारण कमजोरी हुन गएकोमा उहाँले विज्ञप्तीमा दुःखसमेत व्यक्त गर्नुभएको छ ।