

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको विधानअनुसार हरेक वर्ष हुनुपर्ने महासमिति बैठक ६ वर्षपछि आजदेखि सुरु हुँदै छ । यसअघि ०६९ चैतमा महासमितिको नवौँ बैठक भएको थियो । शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएको ३२ महिनापछि बैठक हुन लागेको हो।
नेतृत्व बदल्नेबाहेक पार्टीका नीतिगत निर्णयहरूका लागि कांग्रेसमा महासमिति बैठक महत्वपूर्ण मानिन्छ। महासमितिलाई महाधिवेशनपछि पार्टीको ठूलो फोरमका रूपमा लिइन्छ।
महासमितिले विधान संशोधनलाई दुईतिहाइले पास गर्नेदेखि पार्टीको भावी राजनीतिक दिशा तय गर्नेछ। कांंग्रेसले एक करोड खर्चमा महासमिति बैठक सकाउने अनुमान गरेको छ।
बिहान ८ बजे खाजा र दिउँसो खाना पार्टीले आफ्नो खर्चमा खुवाउँदै छ। तर, बेलुकाको खाना र बासको प्रबन्ध भने महासमिति सदस्यहरूले आफैँ गर्नुपर्छ । बिहान खाजाको मेनुमा चिया र बिस्कुट राखिएको बताइएको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौं ।