दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार
काठमाडौं । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले कार्कीको मागबमोजिम तत्काल अन्तरिम आदेश जारी गर्न नपर्ने ठहर गरेको हो।

कार्कीले आफूलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। उनले पूर्ववत् आईजीपीको जिम्मेवारीमा पुनर्बहाली गर्न र नयाँ नियुक्त भएका मनोजकुमार केसीलाई आईजीपीका रूपमा काम गर्न रोक लगाउन पनि माग गरेका थिए।

यसअघि मंसिर ८ गते सुनुवाइका लागि पेसी तोकिए पनि आवश्यक प्रक्रिया पूरा नभएको भन्दै अदालतले सुनुवाइ अघि बढाएको थिएन। प्रहरी प्रधान कार्यालयमार्फत नयाँ आईजीपी केसीलाई म्याद बुझाउन तथा अर्को सुनुवाइमा मन्त्रिपरिषद्को निर्णयसहितका सक्कल कागजात पेस गर्न अदालतले आदेश दिएको थियो।

त्यस्तै, सरकारको निर्णयबारे आधिकारिक धारणा राख्न महान्यायाधिवक्ता नारायणदत्त कँडेललाई समेत उपस्थित हुन भनिएको थियो।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकबाट कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो।

त्यसपछि रिक्त आईजीपी पदमा प्रहरी अतिरिक्त महानिरीक्षक मनोजकुमार केसीलाई नियुक्त गरिएको थियो। केसीले सोही दिन दर्ज्यानी चिह्न ग्रहण गरी प्रहरी संगठनको नेतृत्व सम्हालेका थिए।

सरकारले भने कार्कीमाथि कुनै कारबाही नगरिएको र उनको जिम्मेवारी मात्र परिवर्तन गरिएको दाबी गर्दै आएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार प्रधानमन्त्रीलाई सुरक्षा मामिलामा आवश्यक सुझाव र परामर्श दिन आईजीपीस्तरको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरी कार्कीलाई जिम्मेवारी दिइएको हो।