वैवाहिक बलात्कारमा किन छुट ? सहमति र बलात्कारको परिभाषामै कानुनी त्रुटि

वैवाहिक बलात्कारमा किन छुट ? सहमति र बलात्कारको परिभाषामै कानुनी त्रुटि

यौन हिंसासम्बन्धी विधेयकमा पाँच विषयमा सुधार गर्न सरोकारवालाको सुझाव, वैवाहिक बलात्कारमा समान सजाय र हदम्याद हटाउन माग

काठमाडौं । विवाह हुँदैमा कसैले अर्को व्यक्तिको शरीरमाथि असीमित अधिकार प्राप्त गर्छ ? वैवाहिक सम्बन्धमा यौन सहमति अनिवार्य हुन्छ कि हुँदैन ? यस्ता प्रश्नसँगै नेपालमा वैवाहिक बलात्कारसहित यौन हिंसासम्बन्धी कानुनी व्यवस्थामाथि पुनः बहस सुरु भएको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको यौन हिंसासम्बन्धी विधेयकमा गम्भीर सुधार आवश्यक रहेको भन्दै सरोकारवालाले प्रस्तावित प्रावधानमाथि प्रश्न उठाएका छन् । उनीहरूले जबरजस्ती करणीको परिभाषा, यौन सहमति, किशोर–किशोरीबीचको सहमतिमा हुने यौन सम्बन्ध, वैवाहिक बलात्कार र अपराधको हदम्यादसम्बन्धी व्यवस्थामा पुनर्विचार गर्न माग गरेका छन् ।

सरोकारवालाका अनुसार विधेयकमा मुख्यतः पाँचवटा विषयमा सुधार आवश्यक छ । यौन हिंसासम्बन्धी कानुन निर्माण गर्दा अपराधको प्रकृति र पीडितको अवस्थासँगै लैङ्गिक पहिचान, स्वतन्त्र सहमति, शक्ति सम्बन्ध र न्यायमा पहुँचलाई पनि केन्द्रमा राख्नुपर्ने उनीहरूको सुझाव छ । अन्यथा अस्पष्ट कानुनी प्रावधानले पीडितलाई न्याय पाउन कठिन बनाउनुका साथै कतिपय अवस्थामा आरोपितलाई उन्मुक्तिको बाटो खोल्न सक्ने उनीहरूको चिन्ता छ ।

बलात्कारको परिभाषा लैङ्गिक पहिचान निरपेक्ष हुनुपर्ने

सरोकारवालाले सुधार गर्नुपर्ने पहिलो विषय जबरजस्ती करणीको परिभाषालाई मानेका छन् । उनीहरूका अनुसार यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिविरुद्ध वा उनीहरूबीच हुने असहमतिमा आधारित यौन सम्बन्धलाई पनि बलात्कारको कसुरमा समेट्ने गरी कानुन स्पष्ट हुनुपर्छ ।

संयुक्त राष्ट्रसंघको नमुना बलात्कार कानुन (यूएन मोडेल रेप ल) को अवधारणाअनुसार लिङ्ग वा लैङ्गिक पहिचानका आधारमा भेदभाव नगरी सबै व्यक्तिलाई समान कानुनी संरक्षण प्रदान गर्नुपर्ने उनीहरूको सुझाव छ । शरीरको कुनै पनि अङ्ग वा वस्तुको प्रयोग गरी योनि, गुदद्वार वा मुखमा गरिने जुनसुकै मात्राको गैरसहमतिपूर्ण यौन प्रकृतिको प्रवेशलाई समेत अपराधको दायरामा समेट्नुपर्ने प्रस्ताव गरिएको छ ।

यसले बलात्कारको परिभाषालाई परम्परागत लैङ्गिक सीमाभन्दा फराकिलो बनाउँदै सबै व्यक्तिको शारीरिक स्वायत्तता र यौनिक अधिकारलाई समान रूपमा संरक्षण गर्ने अपेक्षा गरिएको छ ।

मौनतालाई सहमति मान्ने सोच अन्त्य गर्नुपर्ने

दोस्रो विषय यौन सहमतिको परिभाषा हो । सरोकारवालाले सहमति स्वेच्छिक, स्वतन्त्र र सकारात्मक इच्छाबाट व्यक्त गरिएको स्पष्ट स्वीकृति हुनुपर्ने बताएका छन् । पीडितले प्रतिवाद नगरेको, चुपचाप बसेको वा विगतमा यौन सम्बन्ध राखेको आधारमा सहमति भएको अनुमान गर्न नपाइने व्यवस्था कानुनमै स्पष्ट गर्नुपर्ने उनीहरूको माग छ । त्यस्तै, व्यक्तिको पेसा, सामाजिक सम्बन्ध वा विगतको यौन इतिहासलाई आधार बनाएर सहमति रहेको निष्कर्ष निकाल्न नहुने सुझाव दिइएको छ ।

प्रस्तावित विधेयकको दफा २१९(२)(ख) मा उल्लेख गरिएको ‘होस ठेगानमा नरहेको’ भन्ने शब्दावलीसमेत अस्पष्ट रहेको सरोकारवालाको ठहर छ । यसको सट्टा अचेत अवस्था, निद्रा तथा मादक पदार्थ वा लागुऔषध सेवनका कारण सहमति दिन नसक्ने अवस्थालाई स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने उनीहरूको सुझाव छ ।

कानुनमा अस्पष्ट शब्दावली राख्दा अनुसन्धान, अभियोजन र न्यायिक निरूपणमा फरक–फरक व्याख्या हुन सक्ने भएकाले सहमति दिन नसक्ने अवस्थाको वस्तुनिष्ठ मापदण्ड आवश्यक रहेको उनीहरूको तर्क छ ।

किशोर–किशोरीबीचको सहमतिमा भएको सम्बन्धलाई कसरी हेर्ने ?

तेस्रो विषय १८ वर्षमुनिका किशोर–किशोरीबीच सहमतिमा हुने यौन सम्बन्धको कानुनी व्यवस्थासँग सम्बन्धित छ । प्रस्तावित विधेयकमा दुई वर्ष वा सोभन्दा कम उमेरको अन्तर भएका किशोर–किशोरीबीच सहमतिमा यौन सम्बन्ध भएमा एक वर्षसम्म कैद हुने व्यवस्था नयाँ उपदफा (४) मार्फत प्रस्ताव गरिएको छ ।

तर, सरोकारवालाले यस व्यवस्थामा पनि पुनर्विचार गर्नुपर्ने बताएका छन् । दुवै किशोर–किशोरी कम्तीमा १४ वर्ष पुगेका र उनीहरूबीचको उमेर अन्तर दुई वर्षभन्दा बढी नभएको अवस्थामा स्वेच्छिक सहमतिमा भएको यौन सम्बन्धलाई पूर्ण रूपमा अपराधीकरण नगर्नुपर्ने उनीहरूको सुझाव छ ।

यद्यपि डर, धम्की, प्रलोभन, शोषण वा शक्ति तथा अधिकारको दुरुपयोग भएका घटनालाई यस्तो अपवादको दायरामा राख्न नहुने उनीहरूले स्पष्ट पारेका छन् । बालबालिकाको संरक्षण र किशोरावस्थाका सम्बन्धबीच कानुनी सन्तुलन कायम गर्नुपर्ने उनीहरूको तर्क छ ।

वैवाहिक सम्बन्ध बलात्कारको लाइसेन्स होइन

चौथो र सबैभन्दा संवेदनशील विषय वैवाहिक बलात्कार हो । प्रस्तावित विधेयकमा वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबरजस्ती करणी गरेमा तीनदेखि पाँच वर्षसम्म कैद हुने व्यवस्था प्रस्ताव गरिएको छ । तर, सरोकारवालाले वैवाहिक बलात्कारलाई अन्य बलात्कारका कसुरभन्दा फरक रूपमा व्यवहार गर्न नहुने बताएका छन् । विवाह हुँदैमा कुनै व्यक्तिले अर्को व्यक्तिको शरीरमाथि असीमित अधिकार प्राप्त नगर्ने उनीहरूको तर्क छ ।

वैवाहिक सम्बन्धमा पनि यौन सहमति अनिवार्य हुने भएकाले पत्नीको इच्छाविपरीत गरिएको जबरजस्ती यौन सम्बन्धलाई अन्य बलात्कारसरह समान दण्ड–सजायको दायरामा राख्नुपर्ने उनीहरूको माग छ ।

विवाहलाई यौन सहमतिको स्थायी स्वीकृतिका रूपमा बुझ्ने सामाजिक तथा कानुनी सोच परिवर्तन नगरेसम्म महिलाको शारीरिक स्वायत्तता र समानताको अधिकार व्यवहारमा स्थापित हुन नसक्ने सरोकारवालाको भनाइ छ ।

बलात्कारका अपराधमा हदम्याद हटाउनुपर्ने माग

पाँचौँ विषय बलात्कारसम्बन्धी अपराधमा लाग्ने हदम्याद हो । सरोकारवालाले पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न र अपराधीलाई कानुनी कारबाहीबाट उम्किने अवसर रोक्न बलात्कारका अपराधमा तोकिएको हदम्याद पूर्ण रूपमा हटाउनुपर्ने माग गरेका छन् ।

यौन हिंसाका घटनामा सामाजिक दबाब, पारिवारिक डर, आर्थिक निर्भरता, मानसिक आघात र बदनामीको भयका कारण पीडितले तत्काल उजुरी दिन नसक्ने अवस्था हुन्छ । विशेषगरी बालबालिका तथा कमजोर सामाजिक र आर्थिक अवस्थामा रहेका व्यक्तिका लागि घटना सार्वजनिक गर्नु र कानुनी प्रक्रियामा प्रवेश गर्नु नै चुनौतीपूर्ण हुने उनीहरूको भनाइ छ ।

यस्तो अवस्थामा निश्चित समयसीमाका कारण न्यायको ढोका बन्द हुनु न्यायको मूल मर्मविपरीत हुने सरोकारवालाको निष्कर्ष छ । समग्रमा, यौन हिंसासम्बन्धी विधेयकलाई दण्ड र सजाय निर्धारण गर्ने दस्तावेजमा मात्र सीमित नराखी व्यक्तिको शरीर, स्वतन्त्रता, सम्मान र समानताको अधिकार सुनिश्चित गर्ने कानुनी आधारका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

प्रस्तावित प्रावधान जस्ताको तस्तै पारित भए विद्यमान कानुनी तथा व्यावहारिक समस्या समाधान हुन नसक्ने सरोकारवालाको चिन्ता छ । उनीहरूका अनुसार यौन हिंसासम्बन्धी कानुनको प्रभावकारिता अपराधीलाई सजाय दिनुमा मात्र होइन, पीडितले निर्भय भएर न्याय खोज्न सक्ने वातावरण निर्माण गर्नुमा पनि निर्भर रहन्छ ।  अब मन्त्रालय र विधायिकासामु चुनौती छ-यौन हिंसाका पीडितलाई सहज रूपमा न्याय दिलाउने कानुन निर्माण गर्ने कि अस्पष्ट परिभाषा, असमान सजाय र हदम्यादका व्यवस्थामार्फत न्यायको बाटो थप जटिल बनाउने ?