इरान युद्धका लागि थप ३५० अर्ब डलर बजेट मागिएपछि अमेरिकी कंग्रेसमा मतभेद

इरान युद्धका लागि थप ३५० अर्ब डलर बजेट मागिएपछि अमेरिकी कंग्रेसमा मतभेद
काठमाडौं । इरान युद्धका लागि थप ३५० अर्ब अमेरिकी डलर बजेट माग र रक्षा मन्त्रालय (पेन्टागन) को खर्चका विषयमा अमेरिकी संसद् (कंग्रेस) मा मतभेद बढेको छ । यसले क्रिसमसअघि नै अमेरिकी संघीय सरकारका कामकाज बन्द हुन सक्ने सम्भावना बढाएको छ ।

बीबीसी फारसीका अनुसार बजेटसम्बन्धी विवाद चर्किएपछि सरकारी कामकाज सञ्चालनका लागि आवश्यक थप रकम विनियोजन गर्ने विषयमा सांसदहरूबीच सहमति जुट्न कठिन देखिएको छ । रोयटर्सका अनुसार दुवै प्रमुख दलका सांसदले मतभेदका कारण सरकारी बजेटमा सहमति हुन कठिन हुने बताएका छन् ।

अमेरिकी सरकारको हालको बजेट डिसेम्बर ११ सम्मका लागि मात्र मान्य छ । त्यसैले संघीय सरकारी विभागहरूको कामकाज निरन्तर सञ्चालन गर्न थप कोषको व्यवस्था गर्न सांसदहरूसँग करिब तीन साताको समय छ । मतभेद विशेषगरी अमेरिकी सिनेटमा तीव्र देखिएको छ । सिनेटमा बजेट पारित गर्न १०० सांसदमध्ये कम्तीमा ६० जनाको समर्थन आवश्यक पर्छ ।

अमेरिकी संसद् एक सातासम्म थ्याङ्क्सगिभिङ बिदाका लागि बन्द रहने तयारी भइरहेका बेला दुवै दलका सांसदबीच बजेटलाई लिएर मतभेद देखिएको हो । रोयटर्सका अनुसार भर्मन्टका डेमोक्र्याटिक सिनेटर पिटर वेल्चले हालै यस विषयमा प्रतिक्रिया दिँदै युद्धका लागि थप आर्थिक सहयोग गर्न नचाहने र सरकारका कामकाज पनि बन्द हुन नदिने अवस्थाबीच समाधान खोज्न कठिन भइरहेको बताएका थिए ।

‘सबैभन्दा ठूलो समस्या के हो भने हामी न युद्धका लागि आर्थिक सहयोग गर्न चाहन्छौँ, न हामी सरकारका कामकाज बन्द गर्न चाहन्छौँ । यस्तो अवस्थामा यसको समाधान कसरी निस्केला ?’ उनले भनेका थिए । उनले यो समस्या निकै जटिल रहेको र समाधान गर्न कठिन हुनेसमेत बताएका थिए ।