

काठमाडौं । नेकपा एमालेका नेता एवं परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणअघि राष्ट्रिय सहमति कायम गर्न सुझाव दिएका छन्।
बुधबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले उच्चस्तरीय भ्रमणमा जानुअघि आन्तरिक रूपमा सर्वपक्षीय छलफल गर्नुपर्ने बताए। त्यसो गर्दा नेपालले साझा धारणा बनाएर आएको सकारात्मक सन्देश भारतको उच्च तहमा जाने उनको भनाइ थियो।
जेन–जी आन्दोलन, त्यसपछिका गतिविधि र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वमा दुई तिहाइको सरकार गठन भएपछि विकसित राजनीतिक अवस्थालाई भारतले नजिकबाट नियालिरहेको भट्टराईले उल्लेख गरे। नयाँ सरकारले भारतसँग कस्ता विषय अघि बढाउन खोजेको छ भन्नेमा भारतीय पक्षको चासो रहेको उनको भनाइ थियो।
प्रधानमन्त्री र अर्थमन्त्रीका अभिव्यक्तिमा कूटनीतिक संवेदनशीलता नदेखिएको तर्क गर्दै भट्टराईले नेपालको तराईमा भारतका कारण हुने डुबान समस्या तथा असमान सन्धि–सम्झौता पुनरावलोकनका विषयमा रास्वपा सरकारको धारणा स्पष्ट हुन नसकेको बताए।
उनले भोटेकोशी बाढीजस्ता प्राकृतिक विपद्पछिको पुनर्निर्माणका लागि भारतबाट सहयोग जुटाउने विषयमा पनि प्रधानमन्त्रीको भ्रमणका क्रममा पहल गर्न सुझाव दिए।