प्रभु बैंकद्वारा चिफ बिजनेस अफिसरसहित चार कर्मचारीमाथि कारबाही

प्रभु बैंकद्वारा चिफ बिजनेस अफिसरसहित चार कर्मचारीमाथि कारबाही

काठमाडौं । प्रभु बैंकले चिफ बिजनेस अफिसर रश्मी पन्तसहित चार जना कर्मचारीमाथि कारबाही गरेको छ। बैंकले पन्त र सुगेन शाक्यलाई सेवाबाट बर्खास्त गरेको छ भने अन्य दुई कर्मचारीलाई बढुवा रोक्का र पद घटुवाको कारबाही गरेको हो।

आवश्यक कानुनी कागजात र सुरक्षा व्यवस्था पूरा नगरी एमएस एसियन भिलेज रिसोर्ट प्रालिलाई कर्जा प्रवाह गरेको कसुरमा पन्तलाई गत कात्तिक २० गतेदेखि लागू हुने गरी बैंकको सेवाबाट बर्खास्त गरिएको हो।

त्यस्तै, प्रभु ग्रुप इन्कले रेमिट्यान्स कारोबारका लागि पेस गरेको स्ट्यान्डबाई लेटर अफ क्रेडिट तथा वित्तीय जमानत स्वीकार गर्दा बैंकिङ नियम पालना नगरेको आरोपमा शाक्यलाई पनि सेवाबाट बर्खास्त गरिएको छ। उक्त कार्यले बैंकलाई ठूलो वित्तीय जोखिम र कानुनी दायित्वमा पार्न सक्ने देखिएको भन्दै उनलाई पनि कात्तिक २० गतेदेखि लागू हुने गरी बर्खास्त गरिएको बैंकले जनाएको छ।

बैंकका अर्का कर्मचारी सुदीप श्रेष्ठलाई भने कर्मचारी विनियमावलीअनुसार एक तह पद घटुवा गरिएको छ। सामूहिक सौदाबाजी सम्झौताको नतिजाप्रति असन्तुष्टि जनाउँदै उनले कर्मचारीहरूको ठूलो समूहलाई अनधिकृत रूपमा इमेल पठाएको बैंकको भनाइ छ। त्यसपछि उनलाई सहायक पदबाट जुनियर सहायक पदमा घटुवा गरिएको हो।

त्यस्तै, अर्का कर्मचारी मधुसूदन न्यौपानेको दुई वर्षका लागि बढुवा रोक्का गरिएको छ। स्थापित कार्यविधि पालना नगरी कार्यसम्पादनमा कमजोरी देखाएको भन्दै कर्मचारी विनियमावलीबमोजिम उनको बढुवा रोकिएको बैंक स्रोतले जनाएको छ।