

काठमाडौं । प्रहरी प्रमुखबाट हटाइएपछि पुनर्वहालीको माग गर्दै दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा भोलि पहिलो सुनुवाइ हुने भएको छ ।
यसअघि हिजो पेसीमा चढेको रिट छठ पर्वको सार्वजनिक बिदाका कारण सुनुवाइ हुन नसकेपछि भोलिका लागि पेसी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
कार्कीले प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ विपरीत आफूलाई पदबाट हटाइएको दाबी गर्दै प्रहरी महानिरीक्षक पदमा पुनर्वहालीको मागसहित रिट दायर गरेका हुन् । उनले नवनियुक्त महानिरीक्षकलाई कामकाज गर्न नदिन अन्तरिम आदेशसमेत माग गरेका छन् ।
सरकारले डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्दै कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा जिम्मेवारी दिएको थियो । मन्त्रिपरिषद्ले निर्णय गरेकै दिन कार्कीले सुरक्षा सल्लाहकारको नियुक्ति बुझिसकेको गृह मन्त्रालयको दाबी छ ।