निलम कार्की निहारीकाको ‘राजमाता’लाई कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार

निलम कार्की निहारीकाको ‘राजमाता’लाई कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार

चितवन । कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार यस वर्ष निलम कार्की निहारीकाको कृति ‘राजमाता’लाई प्रदान गरिएको छ। कविडाँडा साहित्य समाज, चितवनले शनिबार चितवनमा आयोजना गरेको कार्यक्रममा निहारीकालाई उक्त पुरस्कार प्रदान गरेको हो। कार्यक्रममा उनलाई दुबोको माला, दोसल्ला, प्रमाणपत्र र नगद पुरस्कारसहित सम्मान गरिएको थियो। पुरस्कारको राशि दुई लाख एक सय ६० रुपैयाँ रहेको छ।

निहारीकाका प्रमुख उपन्यासमा ‘मौन जीवन’, ‘नियतिको खेल’, ‘अर्की आइमाई’, ‘चीरहरण’, ‘योगमाया’ र ‘द्रौपदी अवशेष’ लगायतका कृति रहेका छन्। नेपाली साहित्यको प्रगति र उत्थानमा सहयोग पुर्‍याउने उद्देश्यले स्थापित कविडाँडा साहित्य समाजले विसं २०७५ देखि निरन्तर उत्कृष्ट आख्यान कृतिलाई यो पुरस्कार प्रदान गर्दै आएको संस्थाका अध्यक्ष एलबी क्षेत्रीले जानकारी दिए।

कविडाँडा साहित्य समाजले स्थापना गरेको यो पुरस्कार चितवनबाट प्रदान गरिने सर्वाधिक राशिको साहित्यिक पुरस्कार रहेको जनाइएको छ।