

नवलपरासी । आधुनिक बाजा र स्पिकरको बढ्दो प्रयोगका कारण कुनै समय सङ्कटमा परेको मादलको बजार पछिल्लो समय फेरि उकालो लाग्न थालेको छ। विशेषगरी तिहारमा देउसीभैलो खेल्दा मादलको प्रयोग बढ्न थालेपछि यसको कारोबारमा सुधार आएको व्यवसायीले बताएका छन्। मौलिक बाजाप्रति युवापुस्ताको आकर्षण बढ्दै जानु पनि मादलको माग बढ्नुको प्रमुख कारण बनेको छ।
विगत २७ वर्षदेखि मादल बनाउँदै आएका नवलपरासीका कालीगढ नारायण नेपालीले मादलको माग पुरानै अवस्थामा फर्किन थालेको बताए। उनका अनुसार विगतमा चाडपर्वका समयमा मात्रै सीमित हुने मादलको माग अहिले वर्षभरि नै हुन थालेको छ। तिहारका बेला भने कारोबार थप बढ्ने गरेको छ।
“मैले मादल बनाउन सुरु गर्दा यसको माग राम्रो थियो। त्यतिबेला नाचगानमा स्पिकर बजाएर उफ्रिने चलन थिएन”, विगत सम्झँदै उनले भने, “अघिल्ला केही वर्ष स्पिकरले मादलको बजार खाएको थियो। अहिले भने बजार फेरि पुरानै लयमा फर्किएको छ।”
नाचगानमा स्पिकरको प्रयोग कायम रहे पनि मादललाई अनिवार्यजस्तै प्रयोग गर्न थालिएपछि यसको माग बढेको नेपालीको भनाइ छ। मौलिक तथा परम्परागत बाजाको संरक्षणमा स्थानीय तहले चासो देखाउनु र नयाँ पुस्तामा आफ्नै संस्कृति र परम्पराप्रति माया बढ्दै जानुले पनि मादलको कारोबारमा सकारात्मक प्रभाव पारेको उनले बताए।
“तीन–चार वर्षअघिसम्म मादल व्यवसाय नै सङ्कटमा पर्ने अवस्थामा पुगेको थियो”, उनले भने, “अहिले भने अवस्था राम्रो हुँदै गएको छ।”
नारायणलाई मादल बनाउन परिवारका अन्य दुई सदस्यले पनि सघाउँदै आएका छन्। मादल बनाउने काममा परिवारका तीनै जना दिनभर व्यस्त हुने गरेको उनकी श्रीमती चन्द्रा नेपालीले बताइन्। उनका अनुसार आफूले मादलमा खरी घोट्ने काम गर्छिन् भने परिवारका अन्य दुई सदस्यले मादल तयार पार्ने काम गर्छन्।
“हामी तीनै जना दिनभर मादल बनाउने काममा व्यस्त हुन्छौँ”, मादलमा खरी घोट्दै गरेकी चन्द्राले भनिन्, “मेरो काम खरी घोट्ने हो, उहाँहरू दुई जनाले मादल तयार पार्नुहुन्छ।”
काम बाँडेर गर्दा सहज हुने भए पनि मादल बनाउन मेहनत र समय उत्तिकै लाग्ने उनको भनाइ छ। एउटा मादल तयार पार्न कम्तीमा तीन घण्टा लाग्ने उनले बताइन्। मादल बनाउन आवश्यक सामग्री भने पोखरा, काठमाडौँ र भारतबाट ल्याउने गरिएको छ।
नवलपरासीस्थित राधाकृष्ण म्युजिक सपका सञ्चालक दिनेश नेपालीले पनि विगतका वर्षको तुलनामा यस वर्ष मादलको कारोबार बढेको बताए। विगतका तिहारमा सुनसानजस्तै हुने पसलमा अहिले ग्राहकको चहलपहल बढेको उनको भनाइ छ।
उनका अनुसार मादल किन्न र बनाउन आउनेमध्ये अधिकांश युवा पुस्ताका छन्। नयाँ पुस्ताले मौलिक बाजाप्रति चासो देखाउन थालेपछि नेपाली परम्परा, संस्कार र संस्कृतिसँगै यसमा आधारित व्यवसायमा पनि आशा पलाएको उनले बताए।
“विगतका तिहारमा डेकमा हिन्दी गीत बजाउँदै युवायुवती नाच्ने र मादल बजाएर देउसीभैलो खेल्ने आफ्नै संस्कृति बिर्सने प्रवृत्तिले यो व्यवसायमा मन्दी आएको थियो”, उनले भने, “अहिले भने मादल किन्न तथा बनाउन आउने ग्राहकमा अधिकांश युवा पुस्ताकै छन्।”
मादल बिक्रीबाटै आफ्नो र परिवारको जीविकोपार्जन गर्दै आएका नारायणले बुबाबाट मादल बनाउन सिकेका हुन्। पुस्तौँदेखि चल्दै आएको यो पेसालाई उनले निरन्तरता दिइरहेका छन्। उनले बनाएका मादल नवलपुरसँगै चितवन, तनहुँ, लमजुङ र पोखरासम्म पुग्ने गरेका छन्।
घोषणा मादल पसलकी सञ्चालक शान्तमाया बसेलले पनि मादल व्यवसायमा फेरि आशा पलाएको बताइन्। कोरोना सङ्क्रमणअघि तिहारमा मात्रै नभई तीज, दसैँ, शिवरात्रि र स्वस्थानी पूजाका समयमा पनि मादलको राम्रो बिक्री हुने गरेको उनले स्मरण गरिन्। तर, कोरोना महामारीपछि व्यवसाय नै सङ्कटमा पर्ने चिन्ता बढेको उनको भनाइ छ।
“कोरोना सङ्क्रमणअघि व्यापार राम्रो थियो। तिहारमा बढी बिक्री हुने मादल तीज, दसैँ, शिवरात्रि र स्वस्थानी पूजाका समयमा पनि राम्रो बिक्री हुन्थ्यो”, उनले भनिन्, “कोरोनापछि व्यवसाय नै सङ्कटमा पर्ने चिन्ता थियो। गत वर्षदेखि बढ्न थालेको कारोबार यस वर्ष भने कोरोना महामारीअघिकै अवस्थामा पुगेको छ।”
पछिल्लो एक वर्षयता मादलको कारोबारमा सुधार आए पनि यसको बजारलाई दीर्घकालीन रूपमा टिकाइराख्न तीनै तहका सरकारले मौलिक बाजाको संरक्षणमा ध्यान दिनुपर्ने व्यवसायीको सुझाव छ। शान्तमायाका श्रीमान् विष्णुकुमार बसेलले विगत १० वर्षदेखि मादल पसल सञ्चालन गर्दै आएका छन्। उनका अनुसार विद्यालय, सङ्घ–संस्था, मन्दिर, भजनकीर्तन समूह तथा व्यक्तिगत प्रयोजनका लागि मादल खरिद हुने गरेको छ।
स्थानीय बजारमा मादलको मूल्य दुई हजार ५०० रुपैयाँदेखि आठ हजार रुपैयाँसम्म पर्ने गरेको छ। त्यस्तै, नेवारी समुदायमा प्रयोग हुने ठूलो मादल अर्थात् ढोलकको मूल्य १४ हजार रुपैयाँसम्म रहेको छ। मादल बनाउन प्रयोग हुने अधिकांश सामग्री नेपालमै उत्पादन हुने भए पनि पछिल्लो समय मादललाई आकर्षक देखाउन भारतबाट आयात गरिएका रिङसमेत प्रयोग गर्न थालिएको छ।
मौलिक बाजाप्रति युवापुस्ताको बढ्दो आकर्षणले मादल व्यवसायमा नयाँ उत्साह थपेको छ। तर, यो उत्साहलाई दीर्घकालीन बनाउन परम्परागत सीपको पुस्तान्तरण र मौलिक बाजाको संरक्षणमा सरकारी तथा सामुदायिक पहल आवश्यक देखिएको छ।