प्रहरी महानिरीक्षकबाट हटाइएपछि दानबहादुर कार्की अदालतमा, कात्तिक ३० गते सुनुवाइ

प्रहरी महानिरीक्षकबाट हटाइएपछि दानबहादुर कार्की अदालतमा, कात्तिक ३० गते सुनुवाइ
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको दाबीसहित सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ।

कार्कीले बिहीबार वकिलहरूमार्फत सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन्। उक्त रिटमा कात्तिक ३० गतेका लागि पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। यसअघि अध्ययनका क्रममा रहेको भन्दै बिहीबार रिट निवेदन दर्ता हुन नसकेको बताइएको थियो। अध्ययन प्रक्रिया पूरा भएपछि निवेदन दर्ता भएको हो।

सरकारले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको छ। तर, कार्कीले मन्त्रिपरिषद्को निर्णयसम्बन्धी पत्र भने बुझिसकेका छैनन्। आफूलाई गैरकानुनी रूपमा पदमुक्त गरिएको दाबीसहित सर्वोच्च पुगेका कार्कीको रिटमाथि अब अदालतले गर्ने सुनुवाइलाई चासोका साथ हेरिएको छ।